विराटनगर । भारतमा कोरोना (कोभिड–१९) फैलिँदै गएपछि नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा कोरोनाको संक्रमण बढी सकेपछि खुला नाकाका कारणले गर्दा नेपालमा पनि जोखिम बढेको बताए छन् ।
भारतमा कोरोना मात्रै नभइ कुनै पनि संक्रामक रोग फैलिसकेपछि नेपालमा ढिलोमा दुई हप्तामा संक्रमण आइसक्ने आँकलन रहेको छ । भारतमा पछिल्लो समय संक्रमण बढेको देखिएपछि मन्त्रालयले पनि त्यही अनुसार पूर्वतयारी गरिरहेको जनाएको छ ।
भारतमा देखिएको कोरोना संक्रमण घातक नभएकाले आत्तिइहाल्नुपर्ने स्थिति नरहेको मन्त्रालयले जनाएको छ । तर, सजक भने रहनुपर्ने बुढाथोकीको भनाइ छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने, धेरै भीडभाडमा जान नहुने, मास्क लगाउनुपर्ने तथा साबुन पानीले हात धुनुपर्ने सुझाब मन्त्रालयले दिएको छ ।
नेपालका प्रायः सबैले कोरोना खोप लगाइसकेकाले अहिलेको कोरोना भेरिएन्टबाट बच्न सकिने मन्त्रालयको दावी छ । नयाँ भेरिएन्टलाई खोपले काम गर्ने भएकाले खोप लगाइसकेकाले आत्तिनु नपर्ने बुढाथोकीले बताए । तर, ज्येष्ठ नागरिक, बालबालिका, प्रतिरोधात्मक क्षमता कम भएकालाई संकमणबाट जोगाउनुपर्ने बताइएको छ ।भारतबाट सीमा नाका हुँदै नेपाल आउनेहरूलाई नियमित परीक्षण गराउने काम भइरहेको प्रवक्ता बुढाथोकीले बताएका छन् ।