विराटनगर । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले खेताला स्वकीय सचिव राखेको पाइएको छ । मन्त्री मण्डलले स्वकीय सचिव नियुक्त गरेका व्यक्ति मन्त्रालयमा उपस्थित छैनन् भने उनको नाममा अर्कै व्यक्तिले काम गरिरहेको पाइएको छ ।
मन्त्री मण्डलले सन्तोष मेहतालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । तर, मन्त्रालयमा उपस्थित भएर काम भने अमृत मेहताले गरिरहेका छन् ।आइतबार कोशी प्रदेशसभाको बैठकमा मन्त्री मण्डल सहभागी भएका थिए । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा मन्त्री सहभागी भइरहँदा अमृत मन्त्रीको निजी सचिवालयमा थिए । सचिवालयमा कर्मचारीका लागि तीन वटा टेबुल कुर्सी रहेकोमा एउटामा प्रमुख स्वकीय सचिव बस्छन् भने अर्कोमा अमृत बस्ने गर्छन् ।
आइतवार पनि उनी सचिवालयमै बसेका थिए । अमृतले ‘मन्त्रीज्यू सदनमा जानुभएको छ, म मन्त्रालयमै छु’ भनेर फोनमा कसैलाई भनिरहेका थिए । मन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिवको मात्रै नेमप्लेट राखिएको छ । प्रमुख स्वकीय सचिवमा सुजित राई छन् । राईलाई कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीको सिफारिसमा राखिएको बताइन्छ ।
नियमअनुसार मन्त्रीले प्रमुख स्वकीय सचिव एक जना, स्वकीय सचिव एक जना र सूचना प्रविधि हेर्ने गरी एक जना कर्मचारी राख्न पाउँछन् । त्यसैगरी हलुका सवारी चालक र अन्य दुई जना कार्यालय सहयोगी पनि नियुक्त गर्न पाउँछन् । मन्त्रीको आवासमा पनि सहयोगी हुन्छ ।
प्रमुख स्वकीय सचिवले अधिकृत स्तरको ४३ हजार ६८९ रुपैयाँ तलब पाउँछन् भने स्वकीय सचिवले नायब सुब्बा सरहको ३४ हजार ७३० रुपैयाँ तलब पाउँछन् । सूचना प्रविधि हेर्ने कुन्दन मण्डलले खरिदार सरहको ३२ हजार ९०२ रुपैयाँ तलब बुझ्छन् ।
मन्त्रीको सचिवालयमा अमृत र कुन्दनको नामप्लेट छैन । अमृतले आफूलाई मन्त्रीको स्वकीय सचिव भनेर चिनाउने गरेका छन् । मन्त्रीको कार्यक्रममा जाँदासमेत उनी साथमै जान्छन् । मन्त्रीलाई भेट्न आउने सेवाग्राहीहरूले “सन्तोष सर तपाईं हो ?” भनेर सोध्दा उनी स्पष्ट जवाफ दिँदैनन् । बरु, परिचय नदिई “तपाईंको के काम थियो?” भनेर सोध्ने गरेका छन् ।
केही कर्मचारीले अमृतलाई नै ‘सन्तोष’ भनेर मोबाइलमा फोन नम्बर सेभ गरेर राखेका छन् । लेखा शाखाका कर्मचारीहरूका अनुसार अमृतले नै सन्तोषका दैनिक भ्रमण भत्ता बुझ्ने गरेका छन् । तर, मासिक तलब भने सन्तोषकै बैंक खातामा जम्मा हुने गरेको छ ।
मन्त्री मण्डलले भने अमृतलाई सहयोगीको रूपमा राखेको बताएका छन् । उनले सन्तोष र अमृत दाजुभाई भएको जानकारी दिँदै सन्तोषले अफिसियल काम गर्ने र अमृतले सहयोगीको रूपमा काम गर्ने बताए ।
मन्त्रालयका कर्मचारीहरूले सन्तोष भनेर अमृतलाई नै चिनेको बताउँछन् । मन्त्रीको स्वकीय सचिव बन्न पाउने पत्रमा सन्तोषको हस्ताक्षर छ । तर, सम्पर्क फोन नम्बर भने अमृतको राखिएको छ ।
यो घटनाले सरकारी नियुक्तिमा पारदर्शितामाथि प्रश्न उठाएको छ । मन्त्रालयका कर्मचारीहरूका अनुसार यस्तो अभ्यासले कार्यक्षेत्रमा भ्रम मात्र सिर्जना भएको छैन, अनाधिकृत व्यक्तिले मन्त्रीको स्वकीय सचिवबको रुपमा काम गरिरहनु गम्भीर विषय हो ।
मन्त्रीका आधिकारिक स्वकीय सचिव सन्तोष भने मन्त्रालयमा हाजिर नभएको कर्मचारीहरूले बताएका छन् । अमृतले आफ्नो वास्तविक परिचय लुकाउने गरेका छन् । लेखा शाखाका कर्मचारीहरूले भने कागजी कारबाहीमै मात्र ध्यान दिने र व्यक्तिको पहिचान जाँच नगर्ने गरेको स्वीकार गरेका छन् ।
प्रदेशसभामा पनि मण्डलले सन्तोषलाई नै स्वकीय सचिव नियुक्त गरेका थिए । “उहाँले सन्तोष मेहतालाई स्वकीय सचिव नियुक्ति गर्नुभएको थियो,” लेखा अधिकृत जीवनराज भण्डारीले भने, “हामीले सन्तोषको नाममा पारिश्रमिक पठाउने गरेका थियौं ।” जसलाई नियुक्त गरिएको हो, उसकै बैंक खातामा तलब पठाउने गरिएको उनले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।