विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न पुनः निर्वाचनमा ३ हजार ९६४ मत खसेको छ। कुल ५ हजार ९९८ मतदाता रहेकोमा झण्डै ६६ प्रतिशतले मतदान गरेका छन्।
शनिबार बिहान सवा ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सम्पन्न भएको थियो। मतदान सकिएलगत्तै मतपेटिका सुरक्षित स्थानमा राखिएको र राति १० बजेपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
यसअघि २०८१ जेठ १९ गते सम्पन्न मतदान विवादित बनेपछि उच्च अदालत विराटनगरमा दुईवटा छुट्टाछुट्टै रिट दायर भएका थिए। दिव्यराज कट्टेलसहित तीन जनाले मतपेटिकामा खसेको मतलाई नै गणना गर्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए। उता, टंकप्रसाद खतिवडासहित अन्य तीन जनाले पुनः मतदानको माग राख्दै अर्को रिट हालेका थिए।
उक्त विवादमा उच्च अदालत विराटनगरका न्यायाधीश द्वय ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले पुनः मतदान गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार उम्मेदवार र मतदाता पुरानै रहने तर मतदान प्रक्रिया पुनः सुरु गर्नुपर्ने निर्णयसँगै शनिबार पुनः मतदान गरिएको हो ।
विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा भएको मतदानमा लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छन्। भट्टराई नेकपा एमालेको विनोद ढकाल पक्षबाट, घिमिरे एमाले संस्थापन समूहबाट र चापागाईं नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन्।
मानगढ खानेपानीको निर्वाचनकै कारण गत वर्ष नेकपा एमाले मोरङमा भाँडभैलो मच्चिएको थियो । एमालेको तत्कालीन जिल्ला नेतृत्वले घिमिरेलाई समर्थन गर्दा तत्कालीन नगर अध्यक्ष सागर थापासहितले भट्टराईलाई समर्थन गरेपछि एमालेले थापासहितलाई कार्वाही गरेको थियो ।
एमालेकै विवादका कारण त्यसबेला निर्वाचन अन्तिम चरणमा पुगेको बेला लफडा भएपछि स्थगित भएको चुनाबी प्रक्रिया फेरि सुरु भएको हो । एमालेको तत्कालीन जिल्ला कमिटि र प्रदेश कमिटिबाट कार्वाहीमा परेका थापा त्यसपछि भएको एमाले अधिवेशनबाट जिल्ला उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । एमाले विराटनगर कमिटिमा पनि थापाले समर्थन गरेको प्यानल नै निर्वाचित भएको छ ।
मानगढ खानेपालीको निर्वाचनलाई एमालेभित्रको गुटगत शक्ति परीक्षणको रुपमा पनि हेरिएको छ ।