विराटनगर । मोरङको रंगेली नगरपालिकाले सडकमा मकैलगायतका अन्नबाली सुकाउन दिने निर्णय गरेको छ । सडकमा अन्नबाली सुकाउँदा र पशु चौपाया बाँध्नाले दुर्घटना बढेको गुनासो बढीरहेको बेला रंगेली नगरपालिकाले भने यस्तो निर्णय गरेको हो ।
सडकमा मकै सुकाएकै कारण गत जेठ ५ मा रंगेली–७ को निचामारीमा सडक दुर्घटनामा १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । सडक ढाकेर विस्कुन सुकाएकै कारण बालिकाको मृत्यु भएपछि नगरपालिकाले सडकमा विस्कुन सुकाउन नपाउने सुचना जारी गरेको थियो । अनुगमनका क्रममा सडकमा सुकाएका केही विस्कुनहरु नगरप्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आक्रोशित भएका थिए ।
वालिकाको मृत्यु भएपछि यात्रुबाहक बस तोडफोड गरेर आक्रोशित बनेका स्थानीयले बिस्कुन सुकाउन दिन नहुने अडान राखेका थिए । तर, बिस्कुन सुकाउन पाउनुपर्छ भन्दै स्थानीय आन्दोलित बनेपछि व्यस्त राजमार्गमा २० प्रतिशत क्षेत्रमा विस्कुन सुकाउन पाइनेगरी सर्वदलीय सहमति भएको हो । हुलाकी राजमार्गको एकलेन सडक नढाक्ने गरी मकै सुकाउने व्यवस्था मिलाउने विहीबार बसेको सर्वदलीय बैठकले निर्णय नै गरेको छ ।
नगरपालिका उपप्रमुख झुमाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदिप साह, नेपाली काँग्रेसका नेता जागरनाथ मण्डल, एमाले अध्यक्ष राम चिमोरिया, नेकपा एसका प्रतिनिधि प्रल्हाद कुमार खतिवडा किसान प्रतिनिधि लक्ष्मण साह र रंगेली प्रहरी प्रतिनिधि सहितको सर्वदलीय बैठकले अन्नबाली सुकाउन दिने सहमति गरेको हो ।
सर्वदलीय सर्वपक्षीय छलफलमा कृषकहरुको मकै भण्डार गर्न समयमा सुकाउने ठाउँको अभाव भएकोले रंगेली नपा भित्र पर्ने पुर्वश्चिम हुलाकी राजमार्ग र उत्तरदक्षिण कानेपोखरी रंगेली सडक क्षेत्रमा बीस प्रतिशत मात्र सडक नढाकी धान, मकैलगायतका अन्नबाली सुकाउन पाउने र नगरपालिका बाहिरको व्यपारीहरुलाई भने कुनैपनि अन्नवाली सुकाउन नदिने सहमति भएको छ ।
उता मृतक बालिकाका आफन्त भने सो निर्णयबाट थप आक्रोसित बनेका छन् ।
बालिकाको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका थिए । बसमा तोडफोड हुन थालेपछि चालकले आफु र यात्रुको ज्यान जोखिममा परेको भन्दै बसलाई कुदाएर ईलाका प्रहरी रंगेलीमा लगेका थिए । घटना अनुसन्धान गर्ने क्रममा सडकमा पुरै ढाकेर मकै सुकाएको र एक्कासी बाटो काटेकी बालिकालाई जोगाउने ठाउँ नहुँदा बसले ठक्कर दिएको निश्कर्ष निकालेर नगरपालिकाले कडाइ गरेको थियो ।
स्थानीयहरुले भने नगरपालिकाकै कारण कृषकहरुले सडकमा विस्कुन सुकाउन बाध्य भएको बताएका छन् । माटो ओसारपसारमा चर्को कर लगाएको कारण घर आँगन पुर्न नपाएकोले सडकमा विस्कुन सुकाउनु पर्ने बाध्यता भएको स्थानीयको दाबी छ । उता, रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले खेतमा पानी परेका बेला भिजेका मकै मात्रै सुकाउन दिने निर्णय गरिएको बताए । ‘यहाँ व्यापारीले पनि सुकाउँदा रहेछन्,’ उनले भने, ‘उनीहरुलाई रोकेर किसानले पनि विग्रन लागेका मकै मात्रै सुकाउनका लागि निर्णय गरेका हौ ।’ उनले यो निर्णय किसानको हितमा रहेको बताए ।


