विराटनगर । औद्योगिक विकासमा सहयोग गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र विराटनगरस्थित डिग्री क्याम्पसबीच आपसी सहकार्य गर्ने समझदारी भएको छ । संगठन र क्याम्पसका बिचमा सोमबार एक कार्यक्रमका बिच उक्त समझदारी बनेको हो ।
उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्यको माध्यमबाट आर्थिक विकाससंग सम्वन्धीत विविध विषयहरुमा अध्ययन अनुसन्धान गर्न दुवै पक्षले समझदारी गरेका हुन् । यसले यस क्षेत्रका समग्र औद्योगिक विकासमा थप टेवा पु¥याउने विश्वास लिइएको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले आर्थिक एवं औद्योगिक क्षेत्रको दीगो विकास, लगानीमैत्री नीति निर्माण, वर्तमान कानुनहरुको समय सापेक्ष परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने वताए । उनले नीति विश्लेषण, दक्ष जनशक्ति उत्पादन र समग्र अर्थतन्त्रसँग सम्वन्धित अध्ययन अनुसन्धानमा उद्योग र शैक्षिक क्षेत्र वीच सहकार्य हुनुपर्ने बताए ।
आर्थिक एवं औद्योगिक क्षेत्रमा आधारित अध्ययन अनुसन्धान र औद्योगिक ईकोसिस्टम विकासले मात्र अर्थतन्त्रको दीगो विकासमा सहयोग पुग्ने उल्लेख गर्दै अध्यक्ष सुरानाले शैक्षिक क्षेत्रले नीजि क्षेत्रसँग हातेमालो गर्नुपर्नेमा जोड दिए ।
डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले आर्थिक एवं औद्योगिक क्षेत्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान र औद्योगिक विषयको शोध कार्यमा सहजीकरण गर्न डिग्री क्याम्पस सदैव अग्रसर रहेको बताउदै शैक्षिक एवं औद्योगिक क्रियाकलापहरुमा निजी क्षेत्रसँग सहकार्य गर्न डिग्री क्याम्पस विराटनगर इच्छुक रहेको बताए ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले उच्च शिक्षा अध्ययन अध्यापनमा कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था डिग्री क्याम्पस विराटनगरसँगको सहकार्यमा गरिने गतिविधिले ईण्डट्रिज एकेडेमिया लिंकेजको आवश्यकतालाई थप स्पष्ट गरेको बताए ।
सोही अवसरमा उद्योग संगठन मोरङले डिग्री क्याम्पसको ग्राउण्ड परिसरमा विराट एक्स्पो प्रयोजनका लागि निर्माण गरेको संरचना डिग्री क्याम्पस विराटनगरका प्रमुखलाई हस्तान्तरण गरेको छ ।
शैक्षिक संस्था र निजी क्ष्ँेत्रको साझेदारी अन्तरगत उद्योग संगठन मोरङले निर्माण गरेको संरचनाले क्याम्पसको पूर्वाधार विकासमा थप टेवा पु¥याउने संगठनले विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं.१४ का अध्यक्ष सूर्यनारायण महतो, संगठनका निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, डिग्री क्याम्पस विराटनगरका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।