संखुवासभा । संखुवासभामा खोरेत रोग नियन्त्रण गर्न आवश्यक रणनीति बनाउन छलफल गरिएको छ । घरपालुवा पशुहरुमा संक्रमण हुने खोरेत रोग नियन्त्रण गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाले उक्त छलफल आयोजना गरेको हो । छलफलमा खोरेत नियन्त्रण गर्न तयारी गरिएको रणनीति कार्यान्यनको विषयमा पनि सरोकारवालाहरुसँग छलफल गरेको हो ।
खोरेत रोग नियन्त्रण रणनीति कार्यन्वयन सम्बन्धी जिल्लाका १० वटै स्थानीय तह सरोकारवाला निकाय तथा स्थानीय तहका जनप्रतिनिधि र पशु सेवामा आवद्ध कर्मचारी, कृषक व्यवसायीहरुको सहभागिता रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोख्रेलले जानकारी दिए ।
खोरेत विषाणुबाट खूरफट्टा जनावरहरु गाई, भैँसी, भेडाबाख्रा, बंगुर आदि जनावरमा संक्रमण हुने सरुवा रोग हो हुन्छ । यो रोग महामारीको रुपमा फैलने भएकोले कोशी प्रदेश सरकारले नियन्त्रणका लागि रणनीति बनाएर चरणबद्ध कार्यक्रम आगडि सारेको छ ।
कार्यक्रममा खोरेत रोगको लक्षण, बच्ने उपाय, समाधान र उपचारका विषयमा समेत छलफल गरिएको थियो । रणनिती कार्यन्वयन छलफल कार्यक्रममा खोरेत रोग के हो, यसको नियन्त्रणकालागि के के गर्ने, कसरी गर्ने, कसले गर्नेलगायतका विषयमा व्यापक छलफल भएको प्रमुख पोख्रेलले बताए ।
कार्यक्रममा कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशक डाक्टर सुशिल अधिकारीले खोरेत रोग नियन्त्रणका उपाय, अपनाउनु पर्ने विधि लगायतका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । कोशी प्रदेश सरकारले १४ वटै जिल्लामा खोरेतविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिरहेको र इलाम जिल्लालाई उच्च प्राथमिकतामा राखेको निर्देशक अधिकारीले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले घरपालुवा कुनै पनि पशुहरु बिरामी भएर वा रोगबाट ज्यान गुमाउनु नपरोस् भन्दै खोरेतलगायतका अन्य कडा वा साधारण रोगको उपचार तत्कालै गर्न र यसको उचित व्यवस्थापन स्थानीय तहसम्म हुनु पर्ने बताए । संखुवासभामा १२ वर्षअघि खोरेत रोग देखापरेको भएपनि पछिल्लो सयम यो रोग जिल्लामा भेटिएको छैन ।
जिल्लामा यस वर्ष मात्र ६१ हजार पशुमा खोेरेतविरुद्धको खोप लगाइएको पशु विज्ञ केन्द्र संखुवासभाले जनाएको छ । खोरेत रोग कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा, खोटाङ, उदयपुर र इलाममा देखा परेको थियो । खोरेत रोगका विषाणु हावाले अत्याधिक छिटो ६० किलोमिटर प्रतिघण्टा फैलाउन सक्ने, रोगी पशुहरूको मासु, दुध, दुधजन्य पदार्थमा लामो समयसम्म रहनसक्ने भएकोले जनावरमा संक्रमण हुने सम्भावना प्रवल हुन्छ ।