उमागौरी सहकारी प्रकरण : सक्कल मिसिल झिकाउन उच्चको आदेश

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला मुछिएको उमागौरी सहकारीको रकम हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मिसिल झिकाउन आदेश दिएको छ ।

उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको हो । मुद्दाको आगामी बिहीबार अर्को पेशी तोकिएको छ ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले अञ्जलालाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालय र अञ्जलाले पनि उच्चमा निवेदन दिएकी थिइन् । सो निवेदनको सुनुवाईको क्रममा उच्चका दुई न्यायाधीशको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ सुरु भएको हो ।

वैशाख २५ गते तोकिएको पेशी स्थगित भएर विहिबार सुनुवाई हुँदा न्यायाधीश नन्दको इजलासले सक्कल मिसिल झिकाउन आदेश दिएको उच्च अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए । कोइरालासमेत सहकारीको सञ्चालक रहँदा २२ करोड रपैयाँभन्दा बढि रकम अनियमितता भएको भन्दै दायर मुद्दामा उनीसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।

सहकारीका सञ्चालकलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश वेरितको भएको भन्दै सरकारी वकिल कार्यालयले गत फागुनमा उनीहरुलाई थुनामा राख्न माग गर्दै उच्चमा निवेदन दिएको थियो । उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो ।

सभापति ऋषिकेशपत्नी अन्जला लामो समय फरर भएर पुस २४ मा जिल्ला अदालतमा हाजिर भएकी थिइन् । उनी सोही दिन १० लाख धरौटीमा छुटेकी थिइन् । अरू पाँच जना भने ५–५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

कोइरालासहित रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास, ज्योति बास्कोटा, लक्ष्मी देवी कार्की राजवंशी, सुमन लोहनी र सहकारीका पूर्वसञ्चालक मनोजकुमार सोनी धरौटीमा छुटेका छन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी भने सोही प्रकरणमा पुर्पक्षको लागि कारागार चलान भइसकेका छन् ।

एउटै मुद्दाका उस्तै आरोपीहरूमध्ये कोही थुनामा, कोही धरौटीमा छुटेको भन्दै सरकारी वकिल कार्यालयले जिल्लाको आदेश बदरको माग गरेको थियो । त्यसको सुनुवाईको क्रममा वैशाख ११ गते उच्च अदालत विराटनगर न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेश सदर गर्ने निर्णय सुनाउँदा अर्का न्यायाधीश केशवप्रसाद बाँस्तोलाले धरौटी बढाएर १ करोड बढाउनु पर्ने राय दिएका थिए ।

दुई न्यायाधीशको राय बाझिएपछि पुर्पक्षको आदेशका लागि अर्को बेञ्च तोकिएको हो । यो मुद्दाको अर्को सुनुवाइ बिहीबार हुनेछ ।

बिहिबार, ०२ जेठ, २०८२, दिउँसोको ०३:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर