कृतिकालाई क्याम्ब्रिजको मान्यता

विराटनगर । विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन प्रालिले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिलगर्दै क्याम्ब्रिज अन्तर्राष्ट्रिय विद्यालयको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ । क्याम्ब्रिज इन्टरनेशनलले २०२५ अप्रिल ३० मा कृतिका फाउण्डेशनलाई प्रमाणपत्र प्रदान गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विद्यालयको रूपमा दर्ता गरेको हो । यससँगै विद्यालयले अब कक्षा १ देखि १० सम्म क्याम्ब्रिज करिकुलम अनुसार पठनपाठन गराउने अधिकार प्राप्त गरेको छ । साथै, प्लस टु तहमा ए लेभल क्याम्ब्रिजको नै पढाइ सञ्चालन गरिने छ ।

यसअघि विराटनगरका विद्यार्थीहरूलाई ए लेभल परीक्षा दिन राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । अब भने कृतिका फाउण्डेशनमा नै ए लेभलको परीक्षा दिन सकिने व्यवस्था मिलाइएको छ । यससँगै विराटनगरमै बसेर विद्यार्थीहरूले विश्वव्यापी मान्यता प्राप्त शिक्षा हासिल गर्न सक्ने छन ।
शैक्षिक गुणस्तर, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित शिक्षण विधिमा निरन्तर सुधार र नवप्रवर्तन गर्दै आएको कृतिका फाउण्डेशनको यो उपलब्धिलाई विराटनगर क्षेत्रको शैक्षिक उन्नतिमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ ।

फाउण्डेशनकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी गोल्छाका अनुसार, “क्याम्ब्रिज प्रमाणपत्र विद्यालयका लागि ठूलो उपलब्धि मात्र होइन, यसले यहाँ अध्ययनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसरसमेत प्रदान गरेको छ ।”

उनले भनिन्, “कडा मापदण्ड पूरा गरेपछि मात्र प्राप्त हुने यो मान्यताले कृतिका फाउण्डेशनको पारदर्शिता, दक्षता र समर्पणलाई पुष्टि गरेको छ ।”
फाउण्डेशनको यस सफलताले विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा उत्साह थपेको छ । विराटनगरमै बसेर ए लेभल सहितको क्याम्ब्रिज शिक्षामा सहभागी हुन पाउने अवसरले अभिभावक र विद्यार्थीहरूलाई सजिलो र सुलभ शैक्षिक वातावरणको अनुभूति गराएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान दिँदै आएको कृतिका फाउण्डेशनले प्राप्त अन्तर्राष्ट्रिय मान्यतालाई अझ जिम्मेवारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । कृतिका फाउण्डेशनको क्याम्ब्रिज इन्टरनेशनलसंगको आबद्धताले विराटनगरको शैक्षिक इतिहासमा एक नयाँ अध्याय सुरु गरेको छ ।

शुक्रबार, २६ बैशाख, २०८२, दिउँसोको ०१:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर