
अनिल श्रेष्ठ
विराटनगर । रानीस्थित विराटनगर आँखा अस्पतालमा आर्थिक वर्ष २०८०÷०८१ मा ३ लाख ६० हजार बिरामीको आँखा परीक्षण गरियो । तीमध्ये २ लाख १६ हजार जना भारतीय नागरिक थिए । अस्पतालमा दैनिक एक हजार २ सय हाराहारी बिरामी उपचारका लागि आउँछन् ।
अस्पतालको तथ्यांकअनुसार त्यो वर्ष जम्मा ६७ हजार ५ सय जनाको आँखा शल्यक्रिया गरिएको थियो । मोतिया बिन्दु समस्याका बिरामीहरूको संख्या सबैभन्दा धेरै थियो । शल्यक्रिया गर्नेहरु मध्ये पनि ७० प्रतिशत बिरामी त भारतीय थिए ।
विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथु भन्छन्,‘हिजो हामी उपचारका गर्न नेपाली रुपैयाँ भारतीय रुपैयाँ (भा.रु.) बनाएर पारि जाने गर्दथ्यौं, अहिले भा.रु. बोकेर उताबाट मानिस आउँछन् । यो सबै हाम्रो गुणस्तरीय उपचार सेवाको नतिजा हो । अहिले हामीले प्राप्त गर्ने भा.रु. पनि बढेको छ ।’
भारतको बेङ्गलुरु बस्ने ५० वर्षीय डब्लु सिंह सवारी दुर्घटनामा परी गम्भीर घाइते भए । स्थायी घर बिहार भएका उनको टाउकोमा गहिरो चोट लागेको थियो । बेङ्गलुरुकै एक अस्पतालमा उपचार गराए । तर, खासै सुधार भएन । बिहार फर्किएर आए । स्तरीय उपचारबारे सुनेका परिवारले विराटनगरको न्यूरो अस्पतालमा सिंहलाई भर्ना गराउने निधो गरे । एम्बुलेन्समा घरबाट न्यूरोसम्म ल्याई पु¥याउन मात्र भा.रु. ७० हजार खर्च भयो । तर, न्यूरोमा उपचार गराएपछि सिंह जाति भए । स्वस्थ भएका सिंह हालैमात्र घर फर्किएका छन् । ‘मलाई त मर्छु जस्तो लागेको थियो तर विराटनगरमा उपचार गराएपछि नयाँ जीवन पाएँ’, सिंहले भने ।
आफूलाई पुर्नजन्म दिने न्यूरो अस्पताल र त्यहाँका चिकित्सकलाई धन्यवाद दिएर हसिँलो अनुहार लगाउँदै सिंह बिहार फर्किसकेका छन् । विश्वस्तरीय स्वास्थ्य सेवाको गुणस्तर बढाएसँगै न्यूरोमा भारतसहित विदेशी बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।
नोबेल मेडिकल कलेजले दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको छ । दुई अर्ब २० करोड रुपैयाँको लगानीमा स्थापित यो सेवा प्रारम्भ भएपछि युरोपका बिरामीहरू समेत उपचारार्थ त्यहाँ आउन थालेका छन् । नोबेलका प्रशासकीय अधिकृत दिपेश राईका अनुसार नेपालबाहेक भारत, बंगलादेश, भुटान, माल्दिभ्स जस्ता देशका बिरामीहरू उपचार गर्न आउँछन् । दैनिक पन्ध्र सय बिरामीले सेवा लिने नोबेलमा मुटु रोगको समेत गुणस्तरीय सेवा उपलब्ध रहेको राईको कथन छ । ‘न्युरो सम्बन्धी सेवा शुरु हुनासाथ काजकस्तानका एक जना बिरामी हेलिकप्टर चार्टर गरेर हाम्रोकहाँ आउनु भयो, साता लामो उपचार गराएर बिसेक भई घर फर्कनु भयो,’ राईले भने ।
कञ्चनबारीको आर्या न्यूरो अस्पतालमा मस्तिष्क र नसा सम्बन्धी रोगहरूको उपचार हुन्छ । विशेषज्ञता हासिल गर्दै कोशी प्रदेशकै भरपर्दो चिकित्सा केन्द्रको रूपमा स्थापित यो अस्पतालमा न्यूरो सर्जरीदेखि स्ट्रोकजस्ता जटिल बिमारीहरूको पनि उपचार हुने गर्दछ ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपाल यस क्षेत्रमा दशकौंदेखि सेवारत छन् । उनको नेतृत्वको चिकित्सकहरूको टिमले जटिल प्रकृतिका रोगहरूको उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । ‘मेरो उद्देश्य बिरामीहरूलाई उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्नु थियो,’ डा. नेपालले भने,‘अहिले यहाँ कोशी प्रदेशका मात्र होइन, मधेश र छिमेकी मुलुक भारतसम्मका बिरामीहरूले पनि सेवा पाएका छन् ।’
भारतीय बिरामी नेपालमा उपचार गराउन आउनुको मुख्य कारण गुणस्तरीय सेवा र तुलनात्मक रूपमा सस्तो शुल्क नै हो । विराटनगरका अस्पतालले जनाएअनुसार आँखा उपचार गर्न भारतमा लाग्ने खर्चभन्दा नेपालमा सस्तो पर्छ । सेवा पनि प्रभावकारी छ । यही विश्वासले गर्दा विराटनगर ‘हेल्थ टुरिजम’को केन्द्र बन्न पुगेको विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक पृथु बताउँछन् । ‘बाहिरका बिरामीले गुणस्तरीय र भरपर्दो सेवा खोज्छन् । त्यो मापदण्ड पूरा गराउन हामी सफल भएका छौं,’ उनले भने ।
दिव्य ज्योति आँखा अस्पतालका प्रशासन प्रमुख देवा यादवका अनुसार नेपाल–भारत खुला सीमाका कारणले भारतबाट नेपाल आउन कठिन छैन । जसरी नेपाली उपचार गर्न भारत जान्छन् उसैगरी भारतीयहरु नेपाल आउँछन् । उनले भने,‘यहाँका आँखा अस्पतालका प्रमुख बिरामीहरु भनेकै भारतीयहरु हुन् ।’ गोल्छा र तापडिया आँखा अस्पताल पुग्नेहरूमध्ये पनि उनीहरु नै अधिक हुने गर्छन । उत्तरपूर्वी भारतका बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल जस्ता राज्यका आँखा बिरामीहरूको पहिलो गन्तब्य विराटनगर बनेको पाइएको छ ।
मुटु उपचारमा पनि अब्बल
न्यूरो अस्पतालले आठ वर्ष अगाडि कोशी प्रदेशमै पहिलो पटक अत्याधुनिक ‘क्याथल्याब’ स्थापना गर्यो । चर्चित कन्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. निकेशराज श्रेष्ठसहितको चिकित्सकको टिमले मुटुको विशिष्टिकृत उपचार सेवा अघि बढायो ।
मुटुमा जटिल समस्या भएका बिरामीहरूका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लास्टी र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको छ । हालसम्म दुई हजार भन्दा बढी मुटुरोगीहरूले न्यूरो–कार्डियो अस्पतालबाट सफल शल्यक्रिया तथा उपचार सेवा लिएका छन् ।
न्यूरो अस्पतालले मुटुको जटिल समस्या देखिएका बिरामीहरूको उपचारका लागि अत्याधुनिक प्रविधि (फिलिप्स एफडी २० क्याथल्याब) ल्याएपछि उपचारका लागि आउने बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो प्रविधि नेपालमा जम्मा तीनवटा अस्पतालमा मात्र उपलब्ध छ ।
हाडजोर्नी सम्बन्धी रोगहरूको उपचार पनि न्यूरोमा सफलतापूर्वक हुने गरेको छ । गुणस्तरीय उपचार सेवा प्रदान गरेकै कारण हाडजोर्नीको उपचारमा पनि न्यूरो बिरामीहरूको रोजाइमा परेको छ । अस्पतालमा जोर्नी प्रत्यारोपणसम्मको उपचार हुने गर्दछ । कोशी प्रदेशमा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुर्बिनको माध्यमबाट हुन थालेको छ । पहिले काँधको शल्यक्रिया काठमाडौं र विदेशतिर मात्र हुने गथ्र्यो ।
व
रिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णका अनुसार, जोर्नी प्रत्यारोपणसम्मको उपचार सेवा सुरु भएपछि अब बिरामीहरूलाई विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
अन्तर्राष्ट्रिय स्तरको सेवा चुनौती
विदेशी बिरामीहरूको आगमनले होटल, यातायात र अन्य सेवा क्षेत्रमा पनि व्यवसाय बढेको छ । पूर्वाधार विकास, शिक्षित र प्रशिक्षित मानव संसाधन, गुणस्तरीय सेवाको निरन्तरता र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने जस्ता चुनौतीहरू रहेका एसोशिसन अफ प्राइभेट हेल्थ इन्च्युट (अफन) कोशी प्रदेशको अध्यक्ष डा. शंकर अधिकारी बताउँछन् । भन्छन्,‘सरकारले स्वास्थ्य पर्यटनलाई प्रोत्साहन गर्न नीतिगत सुधार र सहजीकरण गर्नुपर्छ ।’ स्वास्थ्य पर्यटनको क्षेत्रमा विराटनगरको भविष्य उज्वल रहेको उनले सुझाए । अत्याधुनिक प्रविधि, दक्ष चिकित्सकहरू र गुणस्तरीय सेवाको उपलब्धतासँगै, यो क्षेत्र अझ विकसित हुने रहेकोले अस्पतालहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सेवा प्रदान गर्न निरन्तर प्रयास गर्नुपर्ने अधिकारीले बताए ।
कोशी प्रदेशको राजधानीको पहिचान औद्योगिक र राजनैतिक सहर पनि हो । तर, हिजोआज भने स्वास्थ्य पर्यटन (हेल्थ टुरिजम) को प्रमुख केन्द्रको रूपमा विकसित भएको छ । विगत केही वर्षदेखि यहाँका अस्पतालहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । यसले नेपालभित्रका मात्र नभई छिमेकी भारत र विदेशी बिरामीहरू पनि आकर्षित हुन थालेका छन् ।
विराटनगरमा दुईवटा मेडिकल कलेज, पूर्वी नेपालको सबैभन्दा ठूलो संघीय सरकार अन्तर्गतको कोशी अस्पताल, आधा दर्जन नाम चलेका अस्पताल र आठवटा आँखा अस्पतालहरू रहेका छन् । यी अस्पतालहरूमा स्वदेशी मात्र होइन, विदेशी बिरामीहरूको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । यसबाट विदेशी मुद्रा आर्जनमा सहयोग पुगेको देखिन्छ ।
कोशी प्रदेशमा १ हजार ६३३ स्वास्थ्य संस्था छन् । तीन वटा मेडिकल कलेज छन्। प्रदेश स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार प्रदेशमा १ देखि ३०० शैय्याका ९ वटा जनरल अस्पताल छन् । २५ देखि ५० शैय्याका ४६ जनरल अस्पताल छन् । मोरङमा मात्रै २३९ वटा स्वास्थ्य संस्था छन् । तीमध्ये विराटनगरमा मात्र तीन दर्जन भन्दा बढी स्वास्थ्य संस्थाहरू छन् । विराटनगरका अस्पतालहरूबाट एक आर्थिक वर्षमा ७ लाख ५५ हजार ४९९ जनाले ओपीडीमा सेवा लिएका छन् ।