विराटनगर । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघ, कोशीले शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संघले आवासीय चिकित्सकहरूको माग सम्बोधन गर्न माग गरेको हो ।
चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा.बालकृष्ण साहले तीनवटा माग सम्बोधन गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् । संघका अध्यक्ष डा. राजेन्द्र चौधरीको नेतृत्वमा आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएपछि केहिबेर धर्नासमेत दिएको थियो ।
यस्तै प्रकृतिको विरोधसहित चिकित्सक संघ कोशी प्रदेशका प्रतिनिधि र इनरुवा अस्पतालका चिकित्सकसहितको टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा उल्लेख गरिएको मागहरुमा आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सक सरहको सेवा, सुविधासहित निर्वाह भत्ता दिने भनी गरिएको निर्णय निजी मेडिकल कलेजमा समेत लागू गर्नुपर्ने रहेको छ ।
त्यसैगरी आवासीय चिकित्सकहरूको कार्यसमय सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड निर्माण गर्नुपर्ने र चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर रहेको छ । वैशाख ११ गतेसम्म माग सुनुवाइ नभए वैशाख १२ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलन चर्काउने चेतावनी चिकित्सक संघ कोशीले दिएको छ ।