विराटनगर । चाइना भ्रमणमा निस्किएका मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई दिएको कार्यबहाकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
पालिकाकी उपाध्यष गुणवतीदेवी थारुले कानुन विपरीत वडाध्यक्षलाई कार्यवहकको जिम्मेवारी दिएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरमा रिड निवेदन दिएकी थिइन् । सो निवेदनमा सुनुवाई गर्दै उच्चले माझीको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएर चाइना उडेका थिए । उच्च अदालत विराटनगरका न्यायधीस ध्रवराज नन्दको एकल इजलासले आज उपाध्यक्ष थारुको रिटमाथिको सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।
‘गाउँपालिकाका अध्यक्ष मिति २०८१।१२।२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्की नआउँदासम्म वहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमो नारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च.नं. १९६९ मिति २०८१।१२।२५ को पत्र र सो सम्वद्ध निर्णयहरु कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी समेत विपक्षीहरुलाई दिनू,’ उच्चले दिएको आदेशमा भनिएको छ । अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष उपलब्ध हुन्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षले नै पाउने आदेश उच्चले पुनः दोहोर्याएको हो । यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकामा समेत यस्तै प्रकरणमा अदालतले वडाध्यक्षलाई कार्यबहाक दिने निर्णयमा रोक लगाएको थियो ।