विराटनगर । मोरङको केराबारी गाउँपालिकाले हाल जारी शिक्षक आन्दोलनका कारण अवरुद्ध भएको शैक्षिक समस्यालाई समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आवश्यक सहजीकरणको माग गरेको छ।
गाउँपालिकाले शिक्षा ऐन संशोधनसँग सम्बन्धित माग राख्दै काठमाडौंमा जारी शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको जनाएको छ।
पत्रमा उल्लेख भएअनुसार, चैत २० गतेदेखि काठमाडौंमा भइरहेको आन्दोलनमा गाउँपालिकाका शिक्षकरकर्मचारीहरूको समेत सहभागिता रहेको र त्यसले विद्यालयको नियमित कार्य प्रभावित भएको स्पष्ट गरिएको छ।
केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङद्वारा हस्ताक्षरित पत्रमा शिक्षक महासंघले चैत २५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने निर्णय गरिसकेको अवस्थामा तत्कालीन समाधान आवश्यक रहेको उल्लेख गरिएको छ ।

गाउँपालिकाले विद्यालयमा पठनपाठन सञ्चालन गराउन, शैक्षिक सत्र २०८२ को भर्ना अभियानलाई असर नपरोस् भन्ने उद्देश्यले मन्त्रालयसँग आन्दोलनरत पक्षसँग न्यायोचित वार्ता तथा सहमति प्रक्रियालाई तीव्र बनाउन अनुरोध गरेको छ ।
साथै, उच्च मनोबलसहित शिक्षकहरू विद्यालय फर्कने वातावरण सिर्जनाका लागि सहजीकरण गर्न पनि अपिल गरिएको छ।