करोड लगानी भएको बाटो भत्काएपछि…

विराटनगरका गणेशबहादुर थापाले बुढीगंगा–१ मा करोडौं लगानी भइसकेपछि आफ्नो जग्गामा बाटो परेको भन्दै भत्काइदिएका छन् ।

विराटनगर । मोरङ बुढीगंगा १ को पाथीभरा चोकबाट पूर्व लालिगुराँस चोक, सगरमाथा टोल हुँदै वडा कार्यालय जाने बाटो आफ्नो जग्गामा परेको भन्दै गणेशबहादुर थापाले रातारात खनिदिएपछि विवाद सिर्जना भएको छ ।

विगत ३० वर्ष अगाडि चलेको सो बाटोमा पटकपटक गरेर १ करोड बढी लगानी भइसकेको छ । तीन पटक ग्राभेल भइसकेको बाटोे अब कालोपत्रे गर्न मात्रै बाँकी थियो । तर, बाटोको जग्गा नम्बरी रहेको र आफ्नो भएको भन्दै थापाले डोजर चलाएर भत्काइदिएपछि विवाद सिर्जना भएको हो । विराटनगरको पुष्पलाल चोकबाट उत्तर पाथीभरा चोकबाट पूर्वको जाने सो बाटोबाट ४ सय बढी स्थानीय लाभान्वित छन् ।

यही बाटोबाट स्कुलका गाडीहरु ओहोर दोहोर गर्दथे । बाटो खनेर खाल्डो बनाइदिएपछि त्यहाँबाट गाडी आवत जावत बन्द भएको छ भने विद्यार्थी हिंडेरै स्कुल जान बाध्य भएको स्थानीय पुष्कर नेपाल बताउँछन् । थापाले जबर्जस्ती गुण्डागर्दी गरेर बाटो खनिदिएको उनले बताए । ‘यो गुण्डाराज भयो, बनेको सार्वजनिक बाटो बिगार्ने अधिकार थापालाई कसले दियो ?,’ उनले भने ।
थापाले त्यहाँको ऐलानी जग्गाहरु हडप्ने, पालिकाले किला गाडेको ऐलानी जग्गाको किला फालिदिने लगायतका काम गरेको टोल समितिका अध्यक्ष हिम पाठक बताउँछन् । ऐलानी जग्गालाई नम्बरीमा मिसाएर विक्री गर्ने गरेको उनी बताउँछन् । थापाले उक्त जग्गा गत असोजमा लिएका हुन् । त्यसअगाडि सो जग्गा दयावती यादवको नाममा थियो । स्थानीयले भने यादव परिवारसँग वडाध्यक्षको समेत रोहबरमा सहमति लिएर बाटो बनाइएको बताएका छन् ।

थापाले केही दिन अगाडि डोजर लिएर बाटो खन्न थालेपछि स्थानीयले प्रहरी प्रशासनमा उजुरी गरेका थिए । उजुरी पछि वडा कार्यालयले प्रहरी बोलाएर डोजरलाई बाटो खन्न रोक लगायो । तर, पुनः राति आएर बाटो खनिएको पाठकले बताए ।
बुढीगंगा गाउँपालिका १ का वडाध्यक्ष सोमराज काफ्लेले पनि राज्यले लाखौं रुपैयाँ लगानी गरेर बनाएको बाटोमा थापाले अनावश्यक विवाद सिर्जना गरेको बताए । ‘३० औं वर्षदेखि बनेको बाटो हो । त्यहाँ नेपाल सरकारले पनि लगानी गरेको छ । धेरैवर्षदेखिको हिसाब गर्ने हो भने १ करोडभन्दा बढी लगानी भएको होला । गत वर्ष मात्रै ६० लाखको लगानीमा ग्राभेल गरिएको छ,’ काफ्लेले भने, ‘केही महिना अगाडि आफूले जग्गा लिएर यो बाटो मेरो जग्गामा छ भनिरहनु भएको छ । बाटो बनाउँदा तत्कालीन जग्गा धनीसँग सहमति गरेको हो ।’

थापाले जबर्जस्ती गरेको काफ्लेले बताए । ‘उहाँले अलिक जबर्जस्ती गरेको देखिन्छ । कानुनी उपचारमा गएर मात्रै त्यसको छिनोफानो हुनुपर्छ । राज्यले नै दिन्छ भने हामीले रोकेर हुँदैन । बाटो भनेपछि हामीले सरकारी सम्पत्तिसरह सुरक्षा गर्नुपर्छ । स्थानीय सरकारले छुट्याएको ऐलानी जग्गाको किला पनि उहाँले उखेलेर फालिदिनु भएको छ । पालिकाले नापेर छुट्याएको जग्गाको नापजाँचबारे चित्त नबुझे त्यसको निरुपण गर्न पनि कानूनी उपचारमा जान सकिन्छ । तर, बलजफ्ती आएर हटाउन पाइँदैन,’ काफ्लेले भने ।

थापाले त्यहाँको ऐलानी जग्गामा रहेको सिमलको रुख पनि काटेको उजुरी वडा कार्यालयमा परेको छ । निवेदनको माथि छानविन र कारबाही गर्ने निकाय वडा कार्यालय नभएपनि न्यायिक समितिमा पठाउने कि वनमा पठाउने भन्ने विषयमा पालिकाको कानुन व्यवसायीसँग परामर्श गरेर अघि बढाउने तयारीमा रहेको काफ्लेले बताए । ‘उहाँको ऐलानी जग्गा भएको नजिकै नम्बरी जग्गा किन्ने र ऐलानी जग्गा हडप्ने खालको शैली रहेछ । बोली पनि धाक धम्की गर्ने मात्रै रहेछ । मलाई पनि उहाँले धाक धम्की दिनुभयो,’ काफ्लेले भने ।

जग्गा धनी गणेशबहादुर थापाले जग्गालाई बीचबाट टुक्र्याएको कारण पूर्वपट्टि आफ्नै नम्बरी जग्गामा बाटो सारेको बताए । गत असोजमा ३ लाख रुपैयाँ प्रतिधूरले सो जग्गा किनेको थापाले बताए । निजी जग्गामा बाटो निकाल्ने सहमतिसमेत नगरी जबर्जस्ती बाटो बनाएको थापाको दाबी छ । यद्यपि आफूले जग्गा किन्दा नक्सा मात्रै हेरेर किनेको र पछि आएर हेर्दा जग्गाको बीचमा बाटो रहेको पाइएको बताए ।

‘१ करोडको जग्गालाई मूल्यहिन बनाएको कारण मैले बाटो सारेको हो । आफ्नै जग्गामा बाटो सारेको छु । बाटो बन्द भएको छैन । यसअघि बाटो खोल्ने विषयमा सहमति गरेको कागज गरेको भए म अहिलेकै अवस्थाको बाटो छोडिदिन्छु,’ उनले भने । आफूले सिमलको रुख नकाटेको पनि थापाले बताए । ‘त्यहाँ खाल्डोमा माटो काट्ने क्रममा रुख आफैं ढलेको हो । मैले काटेको होइन,’ थापाले भने । डिभिजन वन कार्यालय मोरङका वन अधिकृत लाम लखन ठाकुरले सिमलको रुख काट्न वन कार्यालयको अनुमति चाहिने बताए । अनुमति बेगर काटिएको उजुरी परे कारबाही हुने उनको भनाइ छ ।

आइतबार, २३ चैत, २०८१, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर