विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनले चौथो संस्करणको ‘इक्वालिटी कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ ।
आइतबार पत्रकार गरी फाउण्डेशनले यस प्रतियोगिता सोमबारदेखि विराटनगर–६ मा रहेको म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्डमा उक्त प्रतियोगिता हुने जानकारी दिएको हो ।
फाउण्डेशनका संयोजक मन्दीप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी हुनेछन् । चारै जिल्ला क्रिकेट संघले पठाएका टिमहरूबीच लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । सोमबार दुई खेल हुनेछन् । पहिलो खेल इलाम र सप्तरी बिच हुनेछ भने सोही दिन हुने दोस्रो खेल मोरङ र सिरहाबीच हुनेछ ।
फाउण्डेशनले म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्वालिटी कप क्रिकेट आयोजना गर्दै आएको छ ।
साहले जानकारी दिएअनुसार यस आयोजनाले घरबाट बाहिर निस्किन नसकेका युवतीहरू अहिले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न सफल भएका छन् । मोरङकी सानु राजबंशीले मलेसियामा सम्पन्न अन्डर १९ एसिया कपमा, काजल भन्ने निरु राजवंशीले राष्ट्रियस्तरमा र पूर्णिमा राजवंशीले कोशी प्रदेशस्तरीय क्रिकेट खेलिरहेको उनले उदाहरण दिए ।
फाउण्डेशनले सानै उमेरका बालिका तथा युवतीहरूलाई क्रिकेट प्रशिक्षणदेखि लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दै आएको छ ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गर्ने यस प्रतियोगितामा लिग चरणमा ६ र फाइनल सहित जम्मा ७ वटा खेल हुनेछन् ।इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता महिला सशक्तीकरण र समानताको संदेश दिने महत्वपूर्ण प्लेटफर्म बन्दै गएको छ, जसले ग्रामीण क्षेत्रका युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ ।