विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीले विजय हासिल गरेका छन्।
विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबारका दिन भएका खेलहरूमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजक मिल्स क्रिकेट क्लबले सुनसरी जिल्लालाई ६ विकेटले पराजित गरेका थिए। यो जितसँगै मोरङ र आयोजकले समान रूपमा २–२ अंक हासिल गरेका छन्।
मोरङले उदयपुरलाई १२० रनको लक्ष्य दिएको थियो। उदयपुरले १९.३ ओभरमा सबै विकेट गुमाउँदै केवल ६९ रन मात्र बनाउन सक्यो। उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन र निराजन तिवारीले २१ बलमा १० रन योगदान गरे।
मोरङकी मिनाशा थापाले शानदार बलिङ गरिन्। उनले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् र प्लेयर अफ द म्याच घोषित भइन्, जसका लागि उनले नगद २,५०० प्राप्त गरिन्। अमर यादवले पनि ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।
मोरङले टस जितेर ब्याटिङ सुरु गरेको थियो र १९.६ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनको लक्ष्य निर्धारण गरेको थियो। दिपक पासवानले सर्वाधिक रन बनाए, उनले २७ बलमा ४ चौका प्रहार गरे। सन्तोष चौधरीले २१ बलमा १८ रन योगदान गरे।
दोस्रो खेलमा सुनसरीले ११८ रनको लक्ष्य दिएको थियो। आयोजक मिल्स क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। निरु मुखियाले सर्वाधिक रन बनाए, उनले २९ बलमा ३६ रन (१ छक्का र १ चौका) बनाए। मुकुन्द यादवले अविजित रहँदै २५ बलमा २५ रन र जशक खड्काले अविजित रहँदै २३ बलमा १५ रन योगदान गरे।
जोशक खड्काले शानदार बलिङ गरे, उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए। उनलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो र नगद २,५०० प्राप्त गरे।
बिहीबारको पहिलो खेल मोरङ र इलाम बीच हुने छ भने सोही दिन हुने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको यस प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ।