विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेश र मोरङले ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राख्दै एनसीडिए मोरङले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर संघका पदाधिकारीहरूले महत्वपूर्ण माग र सुझावहरू राखेका हुन् ।
स्वास्थ्य क्षेत्रका विषयमा सरोकार राख्ने औषधि व्यवसायीहरूलाई ऐन, कानून र नीति निर्माणको प्रक्रियामा सहभागि गराउनुपर्ने संघले माग राखेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन र कानुन निर्माणमा संघलाई सम्मिलित गराउनुपर्ने, नीतिगत निर्णयहरूमा परामर्श र सहभागिता प्रदान गराउनुपर्नेलागयतको माग राखेको संघका अध्यक्ष देशबन्धु ढकालले बताए ।
औषधि व्यवसायी संघले आफ्नो ज्ञापन पत्रमार्फत स्वास्थ्य क्षेत्रमा औषधि व्यवसायीहरूको महत्वपूर्ण भूमिकालाई पहिचान गर्न र भविष्यका नीतिगत निर्णयहरूमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरेको छ । संघका कोशी प्रदेश अध्यक्ष धनबहादुर काफ्ले, मोरङका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वमा कार्यसमितिका सदस्यहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विस्तृत ज्ञापन पत्र बुझाएका हुन् ।