विराटनगर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्वीकार्य नहुने बताएका छन्। आज विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भन्दा राजा हुँदा ठिक भनेर भ्रम फैलाउने काम भएको बताएका छन्।
महासचिव पोखरेलले राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क गर्न कसैले नसक्ने बताए। पञ्चायत कालमा भएका विकास निर्माण र अहिलेको विकास निर्माणको उदाहरण दिँदै राजतन्त्र र पञ्चायत ठिक भनेर मूर्खहरूले पनि भन्न नसक्ने टिप्पणी गरेका छन्।
‘आज कतिपय राजावादीहरू भन्ने गर्दछन्, आज मुलुकको सङ्कटको कारण त संघीय लोकतान्त्रिक गणतन्त्र हो। केका आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन्, मलाई अनौठो लाग्छ। राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन्। राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन्। आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कुतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन्। त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ। मिडियाले पनि तथ्यका आधारमा भ्रम चिर्नुपर्छ,’उनले भने।
लोकतन्त्र नै खतरामा परेका बेला लोकतान्त्रिक दल मिलेको उनले टिप्पणी गरेका छन्।
यस्तै उनले राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्वीकार्न नसक्ने बताएका छन्। विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति नभएको उनले बताए। ‘च्याउ सरी दल उम्रनु राम्रो होइन, निर्णायक राष्ट्रिय शक्ति निर्माणमा हामी जानुपर्छ,’ उनले भने,’त्यो अभियान राष्ट्रको अभियान हो। एमाले अहिले पनि जनताको रोजाइको पहिलो पार्टी छ तर निर्णायक शक्ति छैन।
महासचिव पोखरेलले राष्ट्रियसभामा दुईतिहाई पुगेपछि मात्रै संविधान संशोधन गर्ने बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।