कोशी प्रदेशमा कडा रोग लागेका २ हजार ५०७ जनालाई १३ करोड २८ लाख सहायता बाँडिदै

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरुलाई १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । कडा रोग लागेका बिपन्न नागरिकहरुलाई औषधी उपचार बापत आर्थिक सहायता दिनेगरी शनिबारदेखि सो रकम उपलब्ध गराउने निर्णय भएको स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जानकारी दिए ।

यसरी आर्थिक सहायता प्राप्त गर्नेको संख्या २ हजार ५ सय ५६ जना रहेको छ । जसमा क्यान्सर रोग लागेका १ हजार ५ सय ७ जना, मृगौला रोग लागेका ५ सय ३६, मृगौला प्रत्यारोपण गरेका ८५ जना, मुटुरोगी ३ सय ३१ जना, कलेजो रोगी १५ जना, थालासिमिया ३ जना, पार्किन्सन ७ जना, फोक्सोका बिरामी १ जना, स्पाइनल इन्जुरी ४१ जना, हेड इन्जुरी २९ जना र मस्तिष्क घातका १ जना रोगी रहेका छन् । उनीहरुलाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ बाँडिने मन्त्री राईले जनाए ।
सहायता प्राप्त गर्न निवेदन दिएका विरामी वा उनका आफन्तले मन्त्रालयमा सम्पर्क गरी उक्त आर्थिक सहायता लिनसक्ने मन्त्री राईले बताए । प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरुलाई उपचार सहुलियत दिन भन्दै ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यद्यपि निवेदन धेरै परेको कारण थप रकम रकमान्तर गरेर दिन लागिएको हो । यद्यपि यसअघि दिने भनिएको रकमको ५० प्रतिशत मात्रै दिन लागिएको मन्त्री राईले बताए । निवेदनमा माग भएजति शतप्रतिशत रकम दिन स्रोत अभाव भएको भन्दै ५० प्रतिशत घटाएर रकम उपलब्ध गराउन कार्यविधि नै संशोधन गरिएको हो । सरकारले हाललाई भने कडा रोग लागेका बिरामीको उपचारका लागि दिने सहुलियतको निवेदन लिन छोडेको छ । प्रदेशको आर्थिक अवस्था र क्षमताले थाम्न नसक्ने भएपछि कार्यक्रम रोक्नु परेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, ०७ चैत, २०८१, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर