उहिले ‘चार आना’ मा बेचेको मकै अहिले ४० रुपैयाँमा बेच्छिन् सीता

विराटनगर । विराटनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिको पेटी महानगरपालिका—१२ की ५६ वर्षीया सीता मण्डलका लागि जीविकोपार्जन गर्ने थलो हो ।

उनले त्यो पेटीमा बाल्यकाल, किशोरावस्था मात्र बिताइनन्, अहिले बुढ्यौली पनि त्यसै ठाउँमा मकै पोलेरै बितिरहेको छ । विराटनगरको प्रचण्ड गर्मीमात्र नभएर थेगिनसक्नु वर्षामा रुझ्दै भिज्दै र अलिअलि ओत लाग्दै भए पनि उनी मकै पोलेर ग्राहकलाई खुवाउनमै रमाइरहेकी हुन्छिन् ।

हजुरआमा र आमाले मकै पोलेर बेच्दा मकैको मोल ‘चार आना’ भएको उनी धमिलिँदै गएका पुराना सम्झनाहरुलाई ताजा पार्ने प्रयास गर्दै सुनाउँछिन् ।

यो चोकमा भएका सबैजसो घरहरूले रुपरंगमात्र नभएर स्वरुपैसमेत फेरे । बाटो बन्यो । उनी ओत लागेर बस्ने पेटी र भित्ता रङ्गिए तर उनको पृष्ठभूमिमा सतिसाल झैँ उभिएको ट्राफिक कार्यालयको जीर्ण भवन र उनको ढल्कँदो उमेर उस्तै उस्तै भएको भन्दै हाँस्दै सुनाउँछिन् ।

‘मेरो हजुरआमा, आमाले यसरी नै मकै पोल्दै बेच्नुहुन्थ्यो । अनि मैले पनि सिकेँ,’ उनले भनिन्, ‘यो बाटो यस्तो थिएन । बाटो बन्यो । घरहरू पातला थिए, बाक्लिँदै गए तर भत्किन लागेको ट्राफिक अफिस र मेरो उमेर उस्तै भयो.. थोत्रे ..!,’ उनले लामो हाँसोसँगै भनिन् ।

पढ्न सकिनन् तर आत्मनिर्भर बन्नुपर्छ भन्ने ज्ञान आमाबाट पाएको उनी बताउँछिन् । आमाले मकै पोल्दै चार आना घोगाले बेचेको मकै अहिले आफ्नो पालामा ४० रूपैयाँमा बेच्दा आश्चर्य लाग्ने गरेको उनी सुनाउँछिन् ।

उनले विगत सम्झिएर हामीसँग भलाकुसारी गर्दै गर्दा मकै खान आउने ग्राहकहरु उनको भनाइसँगै मकैको स्वाद लिँदै चकित परेर मुखामुख गरेको देख्न सकिन्थ्यो । किनकि ‘चार आना’ अहिलेको पुस्ताका लागि नौलो लाग्नु अस्वाभाविक होइन ।
उनी ग्राहकलाई मकै दिँदै भन्छिन्, ‘यो त सबै समय–समयको बात रहेछ ।’

विहान ४ बजे मकै खरिद गर्न उनी मोरङको कानेपोखरी पुग्दी रहिछन् । ल्याएजति मकै कहिले बिक्ने रहेछ, कहिले भने यत्तिकै फर्काएर घर लाने गरेको उनले बताइन् ।

परिवारको भरथेग बनेको उनको मकै व्यापारले छोराछोरी हुर्काउन धेरै सघाएको अनुभव उनको छ ।

अब त उनका छोराहरू कमाउने भइसके तर, उनी हातखुट्टा लागेसम्म काम गरिरहने बताउँछिन् । उनले दिनमा हजार रुपैयाँदेखि २ हजार रुपैयाँसम्मको मकै बेच्ने गरेकी छन् ।

‘हातखुट्टा चलेसम्म काम गर्ने हो । केही नहुँदा परिवारको भरथेग नै यही थियो अब किन छोड्नु ?’, उनी भन्छिन्, ‘केही भएर नै बालखदेखि बूढी भइसकेँ र पनि अझैसम्म मकै पोल्दै बेचिरहेकी छु ।’

बिहिबार, ०६ चैत, २०८१, बिहानको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर