निजी अस्पताललाई दिएको प्रदेश सरकारको भेन्टिलेटर गायव !

कोरोना कालमा विराट मेडिकल कलेजलाई दिएको भेन्टिलेटर फिर्ता भएन

विराटनगर । कोशी प्रदेश सरकारको तत्कालिन सामाजिक विकास मन्त्रालयले २०७८ वैशाख ३० गते कोरोना महामारीको उपचारका लागि भन्दै विराट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरेको दुईवटा भेन्टिलेटर गायव भएको छ ।
तत्कालिन सामाजिक विकास मन्त्री उषाकला राईको पालामा विश्वव्यापी नयाँ भेरियन्टसहितको कोभिड १९ बाट संक्रमितहरुको संख्या बढ्दै गएको विराट मेडिकल कलेजले संक्रमितको उपचार गर्न भेन्टिलेटर माग गरेको थियो । मन्त्री राईले पनि तत्कालै कोभिड उपचार केन्द्रमा प्रयोग गर्ने गरी अस्पताललाई पाँचवटा नयाँ भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेकी थिइन् ।

मन्त्रीस्तरीय निर्णय गरेर उक्त भेन्टिलेटर मन्त्रालयलाई आवश्यक परेको बेला फिर्ता हुनेगरी दिइएको थियो । विराटले भेन्टिलेटर उपलब्ध गराउनका लागि पत्र दिएकै दिन मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयले भेन्टिलेटर दिन कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरलाई निर्देशन दिएको थियो । सोही दिन उपचार केन्द्रका संयोजक बैजना साहले विराट मेडिकल कलेज टिचिङ हस्पिटलका बायोमेडिकल इन्जिनियर इ.सुराजन अधिकारीलाई भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।

भेन्टिलेटर प्राप्त गरेको विराटले ३ वटा भेन्टिलेटर २०७८ साउन ३१ गते नै फिर्ता गरेको भएपनि २ वटा फिर्ता नगरेको पाइएको छ । त्यसबेला दिइएको भेन्टिलेटरको अहिलेको अवस्था भने के हो ? भन्नेबारे स्वयं मन्त्रालय, तत्कालिन कोशी कोभिड उपचार केन्द्र (हाल शैलजा आचार्य हृदय रोग उपचार केन्द्र) र विराट मेडिकल कलेजलाई पनि थाहा छैन ।

भेन्टिलेटर फिर्ता गर्न भन्दै स्वास्थ्य मन्त्रालयले २०८० वैशाख १० गते मेडिकल कलेजलाई पत्राचार गरेको थियो । तर, दुई वटा भेन्टिलेटर अहिलेसम्म फिर्ता नभएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाले जानकारी दिइन् । ‘मन्त्रालयले बेला बखत ताकेता गरिरहेको छ । अस्पतालले युज गरिरहेकोले हो कि किन हो फिर्ता गरेको छैन,’ थापाले भनिन् ।

कोभिड महामारीको बेला स्वास्थ्य उपकरणहरु धेरै अस्पताललाई बाँडिएको भएपनि फिर्ता हुनुपर्ने मन्त्रालयले जनाएको छ । पुनः ताकेता गर्न स्वास्थ्य मन्त्री भुपेन्द्र राईले पनि पहल गरेको जानकारी दिँदै मन्त्रालयले भेन्टिलेटरको अवस्थाबारे जानकारी नभएको बताएको छ ।

विराट मेडिकल टिचिङ अस्पतालका सञ्चालक डा.ज्ञानेन्द्र कार्कीले पनि सरकारले दिएको भेन्टिलेटरहरुको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी नभएको बताएका छन् । ‘हो र ? ती भेन्टिलेटरहरु त अवसान भइसके होला । यति लामो चल्छ र ?’ उनले भने, ‘मेन्टिनेन्समा होला कि ? धेरै बिग्रने चिज हो । हामीले कत्ति किनिसक्यौं । किनिसक्यौं ।’

भेन्टिलेटरको आयु ३ वर्षसम्म मात्रै हुने दावी गर्दै कार्कीले भेन्टिलेटर फिर्ता माग्ने मन्त्रालयले कोभिडको बेला नागरिकको उपचार गरेको साढे ७ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरे । ‘कोभिडको बेलामा साढे ७ करोड बराबरको उपचार गरेको रकम राज्यले हामीलाई दिन बाँकी छ’ उनले भने, ‘त्यस्ता भेन्टिलेटरको मूल्यले भ्याउँदैन । हाम्रो भुक्तानी कसले गर्ने ?’

कोभिडको बेलामा जनतालाई सेवा गरेर धेरैको ज्यान बचाएको दावी गर्दै डा.कार्कीले सरकारको कोठामा थन्किएर बस्नुभन्दा विरामीको ज्यान बचाउन त्यसको प्रयोग हुनु राम्रो भएको बताए । उनले राज्यले आफूहरुलाई उपयोग गराएको बताउँदै प्रश्न गरे, ‘अरू धेरै यन्त्र उपकरणहरु कति बाँडियो ? तिनीहरू कहाँ छन् ?’

सरकारले दिएको भेन्टिलेटर गायब भएको विषयमा प्रदेशसभामा पनि प्रश्न उठेको छ । आइतबारको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले कोभिडको समयमा सरकारले निजी अस्पताललाई दिएको स्वास्थ्य उपकरण किन फिर्ता भएन भन्दै प्रश्न गरेका थिए । सरकारी सम्पत्तीमाथि कसको मिलेमतोमा खेलवाड भएको हो छानविन हुनुपर्ने र सरकारले त्यसको जवाफ दिनुपर्ने उनले बताए ।

‘एउटा भेन्टिलेटरमा बिरामी राख्दा सर्वसाधरणले २० हजारदेखि ४० हजारसम्म तिर्नुपर्छ । तर, सरकारले दिएको भेन्टिलेटर अझै फिर्ता भएको छैन’ उनले भने, ‘ आफ्नो सामानलाई सदुपयोग गर्न नसकेर निजी अस्पताललाई किन दिएको हो, सरकारले जवाफ दिनुपर्छ ।’ अहिलेसम्म सरकारले उक्त भेन्टिलेटरको भाडा, राजस्व वा मुनाफा केही नलिएको र अहिले भेन्टिलेटर नै गायब भएको उनको भनाइ थियो ।

सोमबार, २६ फागुन, २०८१, बिहानको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर