महेन्द्र मोरङ क्याम्पस प्रकरण : जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गर्ने तिन जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालयमा मोरङ परिसरमा नाराबाजी गर्ने तिन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा हिजो भएको झडप पछि संस्थापन इतर समूहका विद्यार्थीले न्याय नपाएको भन्दै प्रहरी कार्यालय परिसरमै नारा जुलुस गरेका थिए ।

प्रहरी कार्यालयमा नै आएर अन्याय गर्नेलाई पक्राउ नगरे यही झुन्डिएर आत्महत्या गर्छौ जस्ता नारा लगाएपछि तिन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता वेद प्रकाश जोशीले बताए । ‘यो राजनिधितक एजेन्डा भएकाले हामी अनुसन्धान गरी रहेका थियौ ,’उनले भने तर कार्यालयको परिसरमै आएर जथाभाबी नारा लगाएर यही आत्महत्या गर्छौ भनेपछि नियन्त्रणमा लिएका हौ । प्रहरीले भने पक्राउ पर्नेको नाम सार्वजनिक गर्न चाहेको छैन । तर नेविसंघका विद्यार्थीहरूका अनुसार पक्राउ पर्नेमा सविन दाहाल, गुड्ड साह र सन्जोग गौतम रहेका छन् । तिनै जना कोइराला समूहका हुन् ।

हिजो नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको दुई पक्षबिच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका थिए । नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली स्ववियु चुनावको विषयमा छलफल गर्न गएका बेला स्ववियु सभापति जसवन्त पौडेलको समूहले वञ्चरो, तरबार र लाठीले प्रहार गरेको हो । स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् । उनीहरूबिचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका थिए । देउवा निकटका पनि एक जना विद्यार्थीलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको नाम पनि प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

शुक्रबार, १६ फागुन, २०८१, साँझको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर