विराटनगर ।कोशी प्रदेशको मोरङ, धनकुटा र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारी मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार बिहानका लागि २ः३० बजेतिर दुर्घटना भएको हो ।
हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सफारी चालक सुनसरीको दुहबी नगरपालिका–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार रहेकी ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन् । दुवै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
उता कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा ट्रकको ठक्करबाट मंगलबार राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । धरानबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा–६ गोठगाउँकी अन्दाजी ७० वर्षीया नन्दकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । ट्रक र चालक धनकुटा–१ का ३९ वर्षीय भरतकुमार राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
यस्तै, हुलाकी सडक खण्डअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका–१ मा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कुञ्जीबारीबाट धानगाडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक झापाको शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सुरज राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राजवंशीलाई दमक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।