झापाबाट मोरङ आइपुग्दा उत्साहित बन्यो माओवादी

विराटनगर । जनसम्बन्ध सुदृढ गर्न सोमबार झापास्थित नेपालको सबैभन्दा होचो भूमि केचनाकवलमा राष्ट्रिय झण्डा फहराएर ‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’को सुरुवात गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अभियानको दोस्रो दिन मोरङ आइपुग्दा बढि नै उत्साहित देखिएका छन् ।

विगतमा आफ्नो वर्ग, समुदाय र राजनीतिक एजेण्डालाई जानेर नजानेर भुल्न पुगेको भन्दै जनतासँग क्षमायाचना गर्दै उनी हिडिरहेका छन् । सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरुसँग भेटघाट गर्दै अभियानमा जुटेको माओवादीलाई मंगलबार मोरङको कानेपोखरी गाउँपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकामा भएका तीन जनसभामा उल्लेख्य जनसहभागिता देखेपछि प्रचण्ड र उनको साथमा रहेको पदाधिकारीको सिंगो टोली उत्साहित बनेको हो ।

ती तीनवटै सभामा हजारौंको संख्यामा जनसहभागिता देखिएको र झण्डै दुई हजार भन्दा बढीले अन्य पार्टी परित्याग गरेर माओवादी पार्टीमा प्रवेश गरेपछि अभियान टोली उत्साहित बनेको हो । मंगलबारको पहिलो जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अभियानमा देखिएको जागरणबाट सन्तुष्टी मात्र जनाएनन् आफ्नो पार्टीको पक्षमा जनताको आकर्षण उल्लेख्य बढेको दाबी गरे । उनले भने, ‘पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाइरहेको देखिएको छ र यसले देशव्यापी रुपमा उर्जा दिनेछ ।’

पूर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रुपमै पुष्टि भएको दावी गर्दै आउँदो २०८४ को निर्वाचनसम्म पुग्दा यसको देशव्यापी प्रभाव देखिने पनि बताए ।प्रचण्डले भेटघाट तथा जनसभाहरुमा पार्टी कमजोर हुनुको कारणका बारेमा पनि खुलेरै बताउने गरेका छन् । उनले पहिलो संविधानसभा निर्वाचनमा प्राप्त गरेको समर्थनबाट आफूहरु सम्हालिन नसकेकै कारण र पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध राख्न नसक्दा कमजोर अवस्थामा पुगेको बताउने गरेका छन् । उनी भन्छन्, ‘उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि आफै सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अबस्था बन्न पुग्यो, अब गम्भीर आत्मसमीक्षा सहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको छ, तपाइँहरु साथ दिनुहोला ।’

सत्तामा रहेका दलहरुले संविधान लागू गर्न नचाहेकै कारण जनताले अधिकार प्राप्त गर्न नसकिरहेको भन्दै उनले प्रधानमन्त्री स्वयं संघीयता र गणतन्त्रप्रति इमान्दार नहुँदा समस्या भइरहेको प्रचण्डले बताइरहेका छन् । उनले जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आम उत्पीडित समुदायबाट आफूहरुले साथ खोजेको बताउने गरेका छन् । उनी भन्छन्, ‘अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नु जस्तै हो, हाम्रो पार्टी सदैव उत्पीडित समुदायको पक्षमा छ र रहिरहने संकल्प गर्दछ । नेपाल राष्ट्र र नेपाली जनताको अधिकारको रक्षा माओवादी बाहेक कसैले गर्न सक्दैन, त्यसका लागि तपाईंहरुको साथ सहयोग आवश्यक छ ।’

उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनावमा जाँदा माओवादीलाई घाटा भएकोले अब त्यस्तो गल्ती नगर्ने पनि जनताका बिचमा बताउँदै हिडेका छन् ।यसैगरी मंगलबार नै मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन अध्यक्ष प्रचण्डले जनताले पाएको अधिकार कसैको दयामायाले नभई जनताको संघर्षले प्राप्त गरेकाले यसमा आँखा नलगाउन चेतावनी दिए । उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई लक्षित गर्दै ‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिदैन’ भनेर जनताको आन्दोलनलाई होच्याउनेहरुले जनताका अधिकार र एजेण्डाहरु खोस्न लागिरहेको बताए ।

माओवादीले अरु पार्टीहरुसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर बनेको आत्समीक्षा पनि गर्दै हिडेका छन् । उनले अबका दिनमा दलाल, बिचौलिया र भ्रष्ट दलहरुसँग नभएर उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि बढ्ने बाचा गरिरहेका छन् ।

गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता कोइराला र जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने भण्डारीलाई स्मरण गरे । त्यस क्रममा उनले वर्तमान सरकार दुबै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको भन्दै आलोचना गरे ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्यालोको नयाँ युग सुरु गरेको स्मरण गर्दै तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महाअभियान चलाएर जनताको पक्षमा र सुशासनको पक्षमा निरन्तर काम गरिरहेको भन्दै जनताको सहानुभूति बटुल्ने प्रयत्न गरे ।

सामाजिक न्यायको रुपमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने कानुन बनाइएको, मिटरब्याज पीडित, सहकारीपीडित र लघुवित्त नागरिकलाई न्याय दिने तथा देश भित्र र बाहिरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशलाई आर्थिक संकटबाट मुक्त गर्न महत्त्वपूर्ण थालनी गरिएको उनले बताए ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा रहेको केन्द्रीय टोलीले मंगलबार मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरेको थियो । त्यस अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको र सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।

सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरुको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।
अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ । त्यस क्रममा मोरङको धनपालथानमा पुगेर प्रचण्डले मुस्लिम समुदायसँग भेटघाट गरेका छन् । मंगलबार उनी धनपालधान ५ स्थित मुस्लिम बस्तीमै बास बसेका थिए ।

मोरङका थप दुई हजारले रोजे माओवादी
मोरङको कानेपोखरी गाउँपालिका र रतुवामाई नगरपालिकामा झण्डै २ हजार व्यक्ति अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई उक्त पार्टीका अध्यक्ष प्रचण्ड र पदाधिकारी टोलीले टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

बिहान कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको जनसभामा लामो समय नेपाली कांग्रेसमा काम गरेका युवा नेता जयराज संयोग लिम्बूसहित कानेपोखरीका ९ सय भन्दा बढीले माओवादी पार्टीमा प्रवेश गरेका थिए । लिम्बू २०७९ को निर्वाचनमा कांग्रेस छाडेर स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । त्यस्तै सोही कार्यक्रममा पथरीशनिश्चरेलगायत अन्य पालिकाबाट गरी एक हजार बढी पार्टी प्रवेश गरेको माओवादी केन्द्र कानेपोखरी इन्चार्ज अम्बिका अर्यालले जानकारी दिए । पार्टी प्रवेश गरेका लिम्बूले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुईतिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

यसैगरी मोरङको रतुवामाई नगरपालिकामा भएको कार्यक्रममा पनि ८ सय जनाभन्दा बढी माओवादीमा प्रवेश गरेका थिए । उक्त कार्यक्रममा रतुवामाई ९ बाट नेपाली कांग्रेस युवा व्यवसायी अविनाश बास्तोलासहित १६३ जना, वडा नम्बर १ बाट नेपाली कांग्रेसका पुराना नेता डा. नई मियाँ, दिलिप झा, एमालेका हरिप्रसाद काफ्लेसहित १३० जना, वडा नम्बर १० बाट एमालेका यदु भण्डारीसहित जना ४०, वडा नम्बर ८ का एमालेका पासाङ तामाङसहित ७२ जना, वडा नम्बर ६ मा सुमन सुब्बासहित ५० जना, वडा नम्बर ४ बाट मिथुन ठाकुरसहित ११० जना, वडा नम्बर २ बाट मजेफुल मियाँसहित १०७ जना, वडा नम्बर ७ मा एमालेका वडा सहसचिव चुडामणि पौडेललसहित ४४ जना, वडा ५ बाट समाजवादी पार्टी निकट युवा संघका पूर्व जिल्ला सचिव दिपेन्द्रकुमार रायलगायत २३ जना रतुवाईबाट झन्डै आठ सय जना प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।

त्यस्तै सुनबर्सीबाट ५० जनाभन्दा बढी व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र मोरङले जनाएको छ । कर्सियामा भएको कार्यक्रमबाट करिब ३ सय जना माओवादीमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

बुधबार, १४ फागुन, २०८१, बिहानको ०९:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर