प्रचण्ड राजनेता हो : उपमहासचिव पुन

विर्तामोड । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएको बताएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको खड्काको १४ औँ स्मृति दिवसमा उनले अब समाजवादी क्रान्तिको नेतृत्व पनि प्रचण्डले नै गर्नुपर्ने बताएका हुन् । ‘माओवादी आन्दोलन पनि समाजवादी क्रान्तितिर जानैपर्छ । तर, सधैँ प्रचण्डको हाइटको नेता नहुन सक्छन् । मैले प्रचण्डसँग २८ वर्ष केन्द्रीय कमिटीमा सँगै काम गरेको छु । जनयुद्धको थालनी गर्दाको कमान्डर म हुँ । शान्तिप्रक्रियापछिको १८ वर्ष पनि मसँगै छु । गल्ती कमजोरी छ भने त्यसको हिस्सेदार प्रचण्ड मात्र हैन हामी पनि हो । सबै जस अपजसमा हामी छौँ । सबै अपजस प्रचण्डमा थुपारेर हुँदैन,’ उनले भने, ‘जसले इतिहास नै बदल छ । त्यसता नेता राजनेता हुन् । प्रचण्ड पनि राजनेता हुनुहुन्छ । अब समाजवादी क्रान्तिको नेतृत्व पनि उहाँले गर्नु हुन्छ ।’

उनले अब नेपाल नेपाली विशेषताको समाजवादमा जान जरुरी रहेको बताए । उपमहासचिव पुनले अब कांग्रेस र एमालेसँग चुनावमा गठबन्धन बनाएर अघि नबढ्ने बताए । ‘चुनावपछि सहकार्य नहुने हैन । तर, स्थानीय तहदेखिसंघसम्म एउटै पार्टी जसरी चुनाव लड्ने अब हुँदैन । समाजवादी मोर्चाका साथीसँग अलक विषय हो । तर, कांग्रेस र एमाले एउटै कित्तामा गए,’ उनले भने, ‘उनीहरु यथास्थितितिर गए । प्राप्त उपलब्धि खोस्नेतिर गए ।’

कार्यक्रममा बोल्दै पुनले गौरीशंकर खड्का युद्धकालका सहयात्री भएको बताए । आफू युद्धताका पूर्वीकमाण्डमा काम गर्दा यहाँको संस्कृति भूगोल चिनाउने व्यक्ति गौरीशंकर भएको बताए । उनले गौरीशंकर निडर, निष्ठावान, सादगी र इमान्दार नेता भएको तर्क गरे । स्मृति दिवसको अवसर पारेर पत्रकार चिरञ्जीवी घिमिरेलाई पनि सम्मान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा भूमिका खेलेको भन्दै युवा पत्रकार घिमिरेलाई नगद १५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो । यस्तै, झापामा कार्यक्षेत्र बनाएर माओवादी जनयुद्ध र जनआन्दोलनका समयमा जेलजीवन बिताएका १७१ जनालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजु चुडालले जानकारी दिए ।

शुक्रबार, ०९ फागुन, २०८१, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर