विराटनगर । ९ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको टाइसिट सार्वजानिक भएको छ । विराटनगर सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट हुने रात्रीकलीन फुटबल प्रतियोगिता फागुन १९ गते उद्घाटन हुने भएको हो । उद्घाटन खेलमा विभागीय टिम त्रिभूवन आर्मी र पाहुना टोली भारत कोलकाताको साउथर्न समिति फुटबल क्लबबीच हुने भएको छ ।
फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारतबीच हुनेछ ।त्यसैगरी फागुन २१ गते पहिलो क्वार्टरफाइनल खेल हुने भएको छ । पहिलो क्वार्टरफाइनल खेल आयोजक रिजालको मोरङ ११ र उद्घाटन खेलका बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २२ गते दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाइ पाएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बलको बिजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ ।
फागुन २३ गते मच्छिन्द्र र थ्रि स्टार बीच हुनेछ भने फागुन २४ गते चर्च व्याइज फुटबल क्लब काठमाडौं र एन आरटी क्लब काठमाडांै बिच हुनेछ । फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ ।
प्रतियोगितामा विदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको छ ।
यस पटक बिजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौं संस्करणको भन्दा पुरस्कार राशी झण्डै आधा घटाएको थियो । सातौं संस्करणमा विजेतालाई नगद २० लाख १५ हजार र उपविजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौ संस्कराण्मा बिजेतालाई ९ लाखा १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएर राखिएको थियो । यस पटक बढाएको छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ ।
यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वोकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेको थियो ।प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने विराट गोल्डकपका संयोजक नविन रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरु मध्येबाट पाँच जनालाई दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरी ताज पहिरिने तयारी रहेको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्मा ट्रष्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष रिजाललाई दिएको हो । ५औं संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८औं संस्करणमा लगातार ठूलो घाटामा व्यहोरेको थियो । ट्रष्टको बैठकले ९औं संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४÷०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौंपछि पहिलो पटक विराटनगरमै रात्रीकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रिकलीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए ।