विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ ।
विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रीकालीन फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको तयारी तिव्र बनाएको संयोजक नविन रिजालले जानकारी दिए । प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी हुनेछ । यस पटकको गोल्डकपमा ‘ए’ डिभिजनका एनआरटी, थ्रि स्टार, मचिन्द्र क्बल, चर्च ब्वाइज, विभागीय टीम नेपाल पुलिस, एपिएफ, त्रिभूवन आर्मी, आयोजक रिजालको मोरङ ११ टिम रहेको रिजालले बताए । रिजालको मोरङ ११ टिममा राष्ट्रिय स्तरका खेलाडीहरु रहनेछन् । ‘जसले गर्दा फाइनलसम्म पुग्ने टिम बनाउने योजना रहेको छ । त्यही अनुसार अहिले अगाडि बढेको छ,’ उनले भने, ‘मंगलबार १० टिमको टाइसिट पनि तयार हुनेछ ।’ आठौं संस्करणमा भएको प्रतियोगितामा भन्दा यस पटक गोल्डकपको पुरस्कार राशि बढाएपनि विधागततर्फ भने घटाएको छ । यस पटक विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौं संस्करणको भन्दा पुरस्कार राशी झण्डै आधा घटाएको थियो । सातौं संस्करणमा बिजेतालाई नगद २० लाख १५ हजार र उपविजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौ संस्कराण्मा बिजेतालाई ९ लाखा १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएर राखिएको थियो । यस पटक बढाएको छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ ।
यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वोकृष्ट हुने खेलाडीलाई नगद ५१ हजार रहेको छ । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेको थियो ।प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडि राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरु मध्येबाट पाँच जनालाई दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरी ताज पहिरिने तयारी गरिएको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्मा ट्रष्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष रिजाललाई दिएको हो । ५औं संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८औं संस्करणमा लगातार ठूलो घाटामा व्यहोरेको थियो । ट्रष्टको बैठकले ९औं संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४÷०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए ।
काठमाडौंपछि पहिलो पटक विराटनगरमै रात्रीकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रीकलीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँ बचतसमेत गराएका थिए ।