तराई केन्द्रित अभियानमा माओवादी :प्रचण्ड एक महिना जनताकै घरमा बस्ने


विराटनगर ।
नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी, तराई–मधेस जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

तराई–मधेशका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने अभियान झापाको कचनकवलबाट १२ गते पार्टीका अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरुको सहभागितामा सुरु हुने पार्टीको प्रदेश कमिटिले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
२०८४ को संसदीय निर्वाचनमा २०६४ को परिणामलाई दोहो¥याउने योजनासहित अभियान सञ्चालनमा जुटेको माओवादी केन्द्रका उपमहासचिब एवं प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले बताए । विगतमा माओवादीले केहि कमाजोरी गरेको र जनतबाट टाढिएको स्वीकार गर्दै नयाँ अभियान सुरु गर्न लागेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र जनयुद्धपछि २०६४ सालको पहिलो संविधानको सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिट जितेको थिए । प्रत्यक्षतर्फ २४० मध्ये १२२ सिट जितेको माओवादीले काँग्रेस र एमालेको शीर्ष नेताहरुलाई पराजित गरेको थियो । अबको निर्वाचनमा त्यहि परिणाम दोहोर्याउने अभियान सुरु भएको माओवादीको दावी छ

गजुरेलले माओवादीलाई पुरानै अवस्थामा फर्काउन र सशक्त क्रान्तिकारी पार्टी बनाउन पार्टी छोडेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्काउने निर्णय भएको बताए । फागुन ३ गते नेकपा माओवादी केन्द्र कोशी प्रदेशको बैठक बसेको थियो । बैठकमा पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ, सहभागी थिए । बैठकले कोशी प्रदेशमा सञ्चालन हुने अभियानमा चार दिन अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु जनताकै बिचमा रहने निर्णय गरेको छ ।

झापाको कचनकबल बनियानीबाट सुरु हुने मेची महाकाली जनजागरण अभियान फागुन महिनाभरी चल्ने र प्रदेशमा चार दिन चल्ने पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले जानकारी दिए । अभियानको क्रममा सुनसरी, मोरङ र झापाबाट अन्य पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता र सामाजिक क्षेत्रका अगुवा गरि ५ हजारलाई पार्टीमा प्रवेश गराउने तयारी रहेको उनको भनाइ छ ।

झापाको बनियानीमा उद्घाटन भएको अभियानले बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभा गर्नेछ । यस्तै १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रियासहित सभाको आयोजना गरिनेछ ।
फागुन १४ गते पनि प्रचण्डसहितको टोलीले विराटनगरका व्यवसायी, बुद्धिजीवी र नागरिकसँग अन्तरक्रिया गर्ने बताइएको छ । १५ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनजन्तरक्रिया तथा सभाको आयोजनापछि अभियान टोली मधेश प्रदेश प्रवेश गर्ने माओवादीले जनाएको छ । अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र उपमहासचिवहरुसहितको केन्द्रिय टोली सबै कार्यक्रममा सहभागी हुनेछ ।
शनिबार विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश परिषद् बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफूहरुको बढी जोड तराई मधेशका २१ जिल्लामा हुने बताएका थिए । तराई मधेशको अभियानपछि सुदूरपश्चिमबाट मध्यपहाडी लोकमार्ग लक्षित अभियान चलाउने उनले जानकारी दिए । दुबै अभियानको समापन काठमाडौंमा लाखौं जनसहभागितामा सभा गरेर निश्कर्ष सुनाउने जानकारी उनले दिए ।

माओवादीको पुस २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । अभियान जनतातिर फर्किने खालको हुने माओवादीको दाबी छ । नेताहरु होटलमा बस्ने र भाषण गर्दै हिँड्ने खालको अभियान नहुने प्रचण्डले बताएका छन् । उनले बाध्यात्मक अवस्था बाहेक होटलमा नबस्ने जानकारी दिएका छन् । एउटा जिल्लामा एक दिन अभियानको क्रममा समय छुट्याएको माओवादीले अभियानको क्रममा बिहान चिया, खाजा, खाना पनि जनताकै बिचमा नेताहरुले खानेछन् ।

विहानदेखि बेलकुसम्म नागरिकसँग संवाद, अन्तरक्रिया र छलफल गरेपछि जनताकै घरमा बास बस्ने योजना छ । अभियानको क्रममा पार्टीका अगुवाहरुसँग प्रशिक्षण, बुद्धिजीवी र व्यवसायीसँग अन्तरक्रिया, पत्रकारहरुसँग भेटघाट, सहिद तथा बेपत्ता परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको छ ।

काठमाडौंबाट आउने नेताहरू आफ्नै सवारी साधनमा आउनेछन् । केन्द्रबाटै केही कलाकार टोली पनि अभियानमा हुनेछ । अभियानको व्यवस्थापन खर्चको लागि केन्द्रबाट आएको खर्च केन्द्रले नै व्यहोर्ने छ । खाने बस्ने व्यवस्था भने जिल्ला र प्रदेशले गर्ने बताइएको छ ।

कोशीमा सक्रिय प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्ड गत माघमा मात्र दुईपटक कोशी प्रदेशका विभिन्न जिल्ला आएर फर्किएका थिए । शनिबार पनि उनी कोशीको झापा र मोरङका कार्यक्रममा सहभागी भए । झापाको दमकमा भएको माओवादीको दोस्रो नगर सम्मेलन र माओवादीको प्रदेश परिषद् बैठकलाई विराटनगरमा सम्बोधन गरेर उनी काठमाडौं फर्किए ।

प्रचण्ड २३ भदौमा उदयपुर आएका थिए । त्यहाँ माओवादी कोशी प्रदेश कमिटीको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी भए । २९ भदौमा कोशी प्रदेश आएका प्रचण्ड दुई दिन बसेर झापा तथा मोरङमा भएका तीन कार्यक्रममा सहभागी भए ।

प्रचण्ड १५ पुसमा झापाको गौरीगन्ज आएका प्रचण्डले पार्टीको गाउँ अधिवेशन तथा खबरदारी सभामा सहभागी भएर फर्किए । उपनिर्वाचनमा पार्टीले गाउँपालिका अध्यक्ष जितेपछि उनी ५ माघमा मोरङको ग्रामथान गाउँपालिका आएर मतदातालाई धन्यवाद दिए । १४ माघमा तेह्रथुम पुगेर उनी दुई दिन विभिन्न कार्यक्रममा सहभागी भए । त्यसपछि उनी शनिबार कोशी आएका हुन् ।

प्रचण्ड १२ फागुनमा झापाको कचनकवल आउने कार्यक्रम छ । माओवादीका लागि कोशी कमजोर क्षेत्र हो । ९३ सदस्य रहेको कोशी प्रदेश सभामा माओवादीका १३ सांसद छन् भने १३७ स्थानीय तहमा माओवादीले जितेको १३ पालिका प्रमुख मात्र हो ।
अहिले पार्टीले पूर्वलाई प्राथमिकता दिएर अध्यक्ष प्रचण्ड लगातार आइरहेको माओवादीका प्रदेश इञ्चार्ज गजुरेलले बताए । ‘पार्टीको योजना नै अब पूर्व, मधेश र काठमाडौंमा केद्रित हुने भन्ने छ,’ उनले भने, ‘जनयुद्धको नेतृत्व पश्चिमले गर्यो, अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने भएकोले यहाँ केन्द्रित भएका हौं ।’

मङ्गलबार, ०६ फागुन, २०८१, बिहानको ०९:३४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर