धरान । पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलेका छन् ।
धरान–९ हङकङ होटलभित्र थाक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनका क्रममा मुकुम्लुङ संघर्ष समितिका नेताहरुले याक्थुम चुम्लुङ केन्द्रीय कार्य समितिको उपाध्यक्ष पदम लिम्बू मावोलाई कालोमोसो दलिएको सूचना पाएको सुनसरी प्रहरीले जनाएको छ ।
उक्त घटना आइतबार दिउँसो साढे १ बजे भएको हो । घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर पठाएको जनाइएको छ । घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको छैन ।
ताप्लेजुङ घर भएका मावोलाई केबलकार निर्माण कम्पनीका प्रमुख चन्द्र ढकालबाट कमिसन खान खोजेको भन्दै संघर्ष समितिले आक्रमण गरेका हुन् । पत्रकार सम्मेलनमा भने याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष दिलसिंह मेन्याङ्बोको पनि उपस्थिति थियो ।
कालोमोसो दल्नेहरुमा जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेता अमर इजम र नेता जेन्टल लावतीलगायत संलग्न भएको बताइएको छ ।