विराटनगर । नेकपा माओवादी केन्द्रले पार्टीभित्रको असन्तुष्टिलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्न रोक लगाउने निर्णय गरेको छ । शनिबार विराटनगरमा बसेको प्रदेश परिषद्को बैठकले राजनीतिक, वैचारिक वा अन्य कुनै पनि प्रकारका असन्तुष्टिहरुलाई सामाजिक सञ्जालमा अभिव्यक्त गरेमा पार्टी अनुशासनविपरीतको कार्य हुने निर्णय गरेको हो ।
प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टीलाई अनुशासित र विधिसम्मत संचालन गर्न पार्टी अनुशासनलाई व्यवस्थित रुपमा पालना गर्ने, आफ्ना असन्तुष्टि, पार्टी नेतृत्वप्रतिको आलोचना वा पार्टी जीवनसँग जोडिएका अन्य विषयमा पार्टीका बैठकहरुमा खुलेर बहस, विवाद। टिप्पणी र आलोचना गर्ने परिपार्टी विकसित गर्न भन्दै गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको थियो । उनले बैठकमा प्रस्ताव राख्दै भनेका थिए, ‘पार्टीका साथीहरुले आफ्ना असन्तुष्टि, पार्टी नेतृत्वको आलोचना र पाटीसँग सम्बन्धि अन्य विरोधलाई सामाजिक सञ्जालमा राख्ने कामलाई नियन्त्रण गर्न जरुरी छ, जे जति विरोधहरु छन् असन्तुटि र आलोचना गर्नुपर्ने विषयहरु छन् ती सम्बन्धित कमिटीमा, पार्टीको बैठकमा वा नेतृत्वसँग भेटेर खुलेर राख्न पाइन्छ, पाउनुपर्छ तर सामाजिक सञ्जालमा राखेर बैरी हसाउन दिन हुँदैन, त्यसैले आजसम्म जे भयो भयो तर अबका दिनमा यो अनुशासनको विषय बन्नुपर्छ र त्यस्तो गरेमा पार्टीले कारवाही गर्नुपर्छ भन्ने प्रस्ताव पेश गर्दछु,’ उक्त प्रस्तावलाई बैठकले उत्साहपूर्वक पारित गरेको थियो त्यतिमात्र होइन माओवादी केन्द्रको प्रदेश कमिटीको बैठकले प्रदेशमा आफूखुसी पार्टी नेतृत्वलाई ल्याएर कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रमहरु प्रदेश पार्टीसँगको समन्वयमा मात्र गर्न पाइने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङलगायतका नेताहरुलाई राखेर प्रस्ताव गरिएको उक्त प्रस्ताव पनि एकमतले पारित भएको थियो ।
प्रदेश पार्टीका तर्फबाट अध्यक्ष नेम्वाङले पार्टी नेतृत्वलाई सहभागी गराउने कार्यक्रममा समन्वय नहुँदा शनिबारको कार्यक्रम झापाको दमक र विराटनगरमा एकै दिन परेको र त्यसबाहेक अन्यत्र पनि यस प्रकारको समस्या हुने गरेकोले समन्वयका लागि यस्तो व्यवस्था आवश्यक भएको बताएका थिए । त्यतिमात्र होइन जथाभावी गरिने पार्टी प्रवेशको कार्यक्रमका कारण पार्टीमा आएकाहरुलाई व्यवस्थापन गर्न गाह्रो पर्ने गरेकोले प्रदेश पार्टीसँग समन्वय र सछलफल गरेर मात्र पार्टी प्रवेश गराउनु पर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले प्रदेशमा रहेका पार्टीका केन्द्रीय तहका नेताहरु र प्रदेश कमिटीका सदस्यहरुलाई अनिवार्यरुपमा किसानका बिचमा जाने र किसानका समस्या तथा उनीहरुलाई बदलिँदो परिवेशमा उन्नत खेती प्रणाली, प्रविधि र मल बिउ तथा उत्पादनलाई बजारसम्म लैजाने विधि र उपायहरुका सवालमा अनिवार्य सहजीकरण गर्ने काममा निरन्तर खटाउने निर्णय गरेको छ ।