मन्दिर पुन : निमार्ण गर्न महायज्ञ

विराटनगर । विराटनगर–१६ रानीको सलाई मिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।

आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी विराटनगर १६ मा रहेको नवनिर्मित श्री राधाकृष्ण मन्दिर एव सामुदायिक भवनको पुनःनिमार्ण र अक्षय कोष स्थापनाको लागि एक हप्ताको महायज्ञ लगाउन लागिएको संयोजक राम थापाले जानकारी दिए ।

एक हप्तासम्म सुरु हुने महायज्ञको कथा बाचन कुवेर सुवेदीले गर्नेछन् । सुवेदीको कौशलताले भक्तजनलाई मन्त्रमुग्ध बनाएर कथा वाचन गर्ने आयोजकको भनाइ छ । महायज्ञमा दैनिक ३ हजार देखि ४ हजारसम्म भक्तजन आउने अपेक्षा गरिएको छ । त्यसै अनुसार महायज्ञको लागि सलाई मिलको प्राङ्गणमा तयारी गरिएको विराट भजन समूहकी अध्यक्ष उमा जोशीले जानकारी दिइन् । महायज्ञ सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताइन् । शिवरात्रीको अवसर पारेर आयोजना गर्न लागेको महायज्ञको फागुन ८ गते बिहान विराटनगरमा कलशयात्रा निकाल्ने तयारी गरिएको छ ।

बिहान दैनिक पूजाअर्चना तथा भागवत पाठ हुनेछ । दिउँसो ११ बजेदेखि दिउँसो ३ बजेसम्म कथा वाचन, साँझमा दिप प्रज्वलन, आरती भजन किर्तन हुने भएको छ । समापनको दिन शिव शंकर भगवानलाई १००८ नाम मन्त्र उच्चारण साथै १००८ बेलपत्र अर्चना एवं पूर्णाहुती यज्ञ बिसर्जन गर्ने कार्यक्रम रहेको छ ।

आइतबार, ०४ फागुन, २०८१, बिहानको ०९:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर