विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा दुई प्रमुख प्रसाशकीय अधिकृत मध्ये कसले कार्यालय सञ्चालनको काम गर्ने भन्ने विषयमा विवाद भएको छ ।
गाउँपालिकामा सरुवा भएर आएकी प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडालाई मंगलबार कार्यालयमा हाजिर गराएका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर स्वयंले कामकाज सम्हालेपछि उपप्रमुख नसिमा बानुले विरोध गरिन् । बुधबारको घटनापछि उपाध्यक्ष बानु र प्रमुख प्रशासकीय अधिकृत ठाकुर बिच विवाद भएको थियो । अध्यक्ष जिवछप्रसाद गच्छदारले पुरानो असन्तुष्टिको उपजमा बुधबारको घटना भएको तर विवाद गर्नुपर्ने कुनै विषय नरहेको बताए ।
गाउँपालिकाकी उपप्रमुख नसिमा बानुले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइसकेपछि अघिल्ला अधिकृत ठाकुरले कार्यालयमा नियमित जस्तै कार्यालयको काम गर्न नहुने भन्दै आक्रोश व्यक्त गरिन् ।अधिकृत ठाकुरले आफ्नो कार्यकालमा भएको कामहरुको रकम भुक्तानी र विभिन्न शाखाका प्रमुखहरुलाई परिवर्तन गर्नेतर्फ उद्दत भएको भन्दै ठाकुरलाई कामकाज गर्नबाट रोक्न खोजेकी हुन् । उपप्रमुख बानुले भनिन्–‘आफंैले कार्यालय सञ्चालन गर्ने हो भने सरुवा भएर आएका कर्मचारीलाई किन हाजिर गराएको ? यसमा तपार्इंको के स्वार्थ छ ?’ उनले अरुको अधिकारी मिचेर जबरदस्ती काम गर्न नमिल्ने भन्दै कर्मचारीले नैतिकता भुल्न नहुनेमा सचेत गराइन् ।
उपाध्क्ष बानुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै गएर आक्रोश व्यक्त गरेकी थिइन् । उनले पालिकाको वातावरण बिगार्ने ढंगबाट विभिन्न शाखाहरुको जिम्मेवारी फेरबदल गर्ने र कर्मचारीहरुको सरुवा गर्ने काम नगर्न ठाकुरलाई सचेत पनि गराइन् ।शाखा प्रमुखहरुलाई परिवर्तन गर्ने र रकम भुत्तानी गर्ने उद्दत रहेको भन्दै वुधवार बिहानै देखि उपप्रमुख बानुले लेखा प्रमुखलाई बोलाएर पुरानो अधिकृत ठाकुरले हस्ताक्षर गरेर चेक नदिन निर्देशन दिएकी थिइन् ।उपाध्यक्ष बानुले मंगलबारदेखि नै आफूलाई जानकारी नदिइ शाखा प्रमुखहरु परिवर्तन गर्न टिप्पणी उठाएर राखेको र ठेकेदारहरुलाई बोलाएर चेक भुक्तानी गर्ने तयारी गरेको आरोपसमेत लगाइन् ।
उनले भनिन्– ‘मैले थाहा पाएर भुक्तानी दिन ठिक पारेको पाँच वटा चेक रोकेको छु ।’बढुवा भएर कार्यालयबाट जान लागेका अधिकृत ठाकुरले गाउँपालिकामा विवाद र बेथिति सिर्जना गर्न खोजेको भन्दै जनप्रतिनिधिहरुको अधिकारमासमेत हस्तक्षेप गर्ने गरेको उनले बताइन् ।
केहि दिनअघि सम्पन भएको गाउँसाभा पनि आफूलाई नबोलाइ सम्पन्न गरेकोमा भन्दै उपाध्यक्ष बानु आक्रोशित देखिइन् ।
गाउँपालिकामा हालसम्म भएको कार्यक्रमको पारदर्शिताका लागि प्रतिवेदन बनाएर गाउँसभामा प्रस्तुत गर्ने तयारी गरेको थाहा पाएका कारण आफूलाई जानकारी नै नदिई गाउँसभा आयोजना गरेको उनको आरोप थियो । त्यस कार्यमा अध्यक्ष जिवछप्रसाद गच्छदार पनि संलग्न रहेको उनको आरोप थियो । गाउँसभामा मिडियालाई समेत प्रवेश नदिइएको उनले बताइन् ।
अध्यक्ष गच्छदारले नै प्रतिवेदन नदिन आग्रह गर्दै प्रतिवेदन पेश गर्ने भए सभामा नआउन निर्देशन दिएको उनले बताइन् ।
कर्मचारी बिच गुटको सिर्जना गरेर तहसनहस बनाएको अधिकृत ठाकुरले आफू स्वार्थ पूरा गर्न कार्यालयमा आएर काम गर्न कानुनी अधिकार नभएको उनको जिकिर रहेको थियो । उता कार्यकारी अधिकृत ठाकुरले आफ्नो सरुवा नभएर बढुवा भएको बताए । म कानुनसम्मत कार्यालयमा आएको बताउँदै उनले भने–‘बढुवा भएको नियुक्ति पाएपछि संघीय सरकारले पठाउने स्थानमा जान्छु, रमाना नलिएसम्म कार्यरत कार्यालयमै हाजिर गर्ने अधिकार मसँगै सुरक्षित रहन्छ ।’
नयाँ अधिकृतको हाजिर तथा अन्य काम अध्यक्षको सल्लाहमा नै गरेको उनले स्पष्ट पारे । ‘कुनै पनि निर्णय मेरो एकल होइन,’ अधिकृत ठाकुरले भने –‘कार्यालय सञ्चाल ऐन अनुसार अध्यक्ष सँगको परामर्शमा सबै काम गर्ने गरेको छु ।’
यता गाउँपालिका प्रमुख जिवछप्रसाद गच्छदारले उपप्रमुखको असन्तुष्टिको उपजको रुपमा विरोध गरेको प्रतिक्रिया दिए ।
उनले भने –‘बढुवा हुन वितिकै जाँदैन, ३५ दिनको म्याद हुन्छ नि !’ठाकुर गत वर्षको फागुन २०सो गाउँपालिकामा हाजिर भएका थिए । तर हालै उनी उपसचिवमा बढुवा भएका छन् । उनको ठाउँमा खतिवडालाई सरुवा गरेर पठाएपछि उपप्रमुखसँग विवाद भएको हो ।