विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो ।
काठमाडौको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रहेको बेला भ्रषटाचार गरेको अभियोग पराजुलीमाथि थियो । मुद्दामा विशेष अदालबाट सफाई पाएकोमा सर्वोच्चले उल्ट्याएको हो ।
उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।
सो प्रकरणमा नेकपा एमालेका नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलाशले बुधबार दोषी ठहर गरेको हो ।
विशेष अदालतबाट उनीहरुले सफाइ पाएकोमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेकोमा सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै आरोपि सबैलाई दोषि ठहर गरेको हो ।
पराजुली विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव बनेका थिए । उनलाई २०७६ सालमा सचिवबाट राजीनामा गराएर २०७६ वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त गरिएको थियो । पराजुली पुनः २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए । अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका छन् ।
पाराजुलीसहित बिरुद्द अख्तियारले २०७१ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवाखानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप थियो ।
सोही प्रकरणमा एमाले नेता कुइँकेललाई सर्वोच्चले ६ वर्ष कैद सजाय तोकेको छ । कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । अदालतले उनलाई त्यति नै जरिवाना हुने फैसला गरेको छ । उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।
सर्बोच्चले शुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरिवाना हुनेछ । अदालतले महेन्द्र्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको छ । अबैध रुख कटान गरेकोमा डेढ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा भ्रष्टाचार गरेको आरोपमा साढे ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको हो । सर्वोच्च अदालतले उनलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको छ ।
सोही प्रकरणमा अर्का तत्कालिन स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । उनले २ करोड ३७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर सहित सर्वोच्च अदालतले त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको छ । काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको छ । सर्वोच्चले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।
२०७१ माघ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा ४६ करोड ५६ लाख बिगो दाबी गरिएको थियो।
२०७३ भदौ ६ गते विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले दुई जना ठेकेदारबाहेक ७ जनालाई सफाइ दिएको थियो।
उक्त फैसला बदर गरी सबैलाई सजाय गर्न माग गर्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।
![](https://hamromat.com/wp-content/uploads/2025/02/1000045318-768x1024.jpg)
![](https://hamromat.com/wp-content/uploads/2025/02/1000045319-784x1024.jpg)
![](https://hamromat.com/wp-content/uploads/2025/02/1000045320-759x1024.jpg)
![](https://hamromat.com/wp-content/uploads/2025/02/1000045321-869x1024.jpg)