विराटनगर । भारतबाट ल्याइएको धान काट्ने कृषि औजार विराटनगर भन्सार कार्यालयले विनाकारण रोकिदिएको छ । कृषि औजार कारोबार गर्दै आएको सागर मोटरपार्टस् रामधुनी १ सुनसरीका व्यवसायी चन्दनकुमार साहले भन्सारले विनाकारण उपकरण रोकिदिएको बताएका हुन् ।
स्थानीय किसानहरुका साथमा आएका व्यवसायी साहले विराटनगरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी भन्सारले कृषि औजार उपकरण आयात गर्न अनावश्यक रोक लगाएर दुःख दिएको आरोप लगाएका हुन् ।सरकारले तोकेको सबै मापदण्ड पूरा गरेर भारतको पञ्चावबाट ल्याइएको धान काट्ने औजार विराटनगर भन्सार कार्यालयमा तीन महिनादेखि रोकिएको छ ।
विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर कृषक र व्यवसायले भन्सार प्रमुखले सबै प्रक्रिया पूरा गरेर ल्याएको उपकरण भन्सारमै तीन महिना रोकेर राखेको आरोप लगाए । ३७ लाख रुपैयाँ पर्ने धान काट्ने मेसिन ‘डस्ट कलेक्टर’ जडान नभएको भन्दै भन्सारले रोकिदिएको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले नै आयात अनुमति दिन नचाहेको पत्रकार सम्मेलनमा बताइएको थियो । भन्सार प्रमुख ढकालले मेसिन जाँच पास गर्न आनाकानी गरिरहेको उनको आरोप रहेको थियो । २०८१ कात्तिक २८ गते भारतको पन्जाब राज्यबाट सरकारी मापदण्ड बमोजिम धान काट्ने मेसिन विराटनगर भन्सार कार्यालयमा ल्याएको छु उनले भने –‘तर भन्सार प्रमुख ढकालले मापदण्ड नपुगेको भन्दै ३ महिनादेखि मेसिन रोकेर राखेका छन् ।‘
मेसिन आयातकर्ता साहले २०८१ मंसिर १७ गते मापदण्ड पुग्दैन भने मेसिन फिर्ता पठाइदिन विराटनगर भन्सार कार्यालयमा निवेदन दर्ता गराएको बताए । भन्सार प्रमुख ढकालले मेसिन जाँचपास गर्न र फिर्ता पठाउन आनाकानी गरेको आरोप साहले लगाए ।
साहले विराटनगर भन्सार कार्यालयमा मेसिन पार्किङ गरेर राखे बापत ट्रान्स नेपाल सर्भिस प्रा.लि.लाई २९ हजार ९८३ रुपैयाँ ४७ पैसा भाडा तिरिसकेका छन् । २ वर्ष कतार र २ वर्ष साउदी अरबमा काम गरेर बाँकी जीवन नेपालमै व्यापार व्यवसाय गरेर बिताउने उद्देश्य लिएर फर्किएका साहले बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर उक्त मेसिन स्थानीय किसानको आग्रहमा खरिद गरेर ल्याएको बताए ।
रामधुनीका किसानले धान काट्ने मेसिन ल्याउन लागेको थाहा पाएर विदेश जाने तयारीमा रहेका बुढिगंगा–२ का शनिदेव चौधरी मेसिन चलाउन पाउने आशामा थिए । तर भन्सारले लामो समयदेखि मेसिन नआएपछि अब उनी फेरि विदेश जाने योजनामा लागेका छन् । सरकारको भूमिकाले गर्दा नेपालमै हलो जोत्न चाहने व्यक्तिलाई विदेश लखेट्न खोजेको स्थानीय किसान लालबहादुर कार्कीको आरोप थियो । उनले आफूहरुको आग्रहमा व्यवसायी साहले मेसिन ल्याएको स्पष्ट पारे । उनले भन्सार प्रमुखसँग आफूहरुले भेट्न खोज्दासमेत भेट नदिएको आरोप लगाए ।
व्यवसायी चन्दन साहले भन्सार प्रमुख ढकाल बाहेक भन्सार अधिकृत सुमित गुप्तासँग मेसिन जाँच पास गराउने विषयमा पटक पटक कुराकानी भएको तर उनले पनि स्पष्ट जवाफ नदिएको बताए ।