भरुवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ खोत्ताकबाट लोड गरिएको भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।मकालु–५ खोत्ताकबाट लोड गरिएको भरुवा बन्दुकसहित हेमराज विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

अवैध रुपमा हातहतियार बनाउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाले हिजो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । प्रहरीले विश्वकर्माको कोठामा खानतलासी गर्दा लोड भएको भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, सोडाजस्तो देखिने सेतो ठोस पदार्थ–२ किलोग्राम,भरुवा बन्दुकमा लाग्ने घोडी जस्तो देखिने फलामको टुक्रा ४ थान बरामद गरेको थियो ।

घोडीको साइडमा लाग्ने फलामको टुक्रा थान–१, भरुवा बन्दुकमा प्रयोग हुने छर्रा जस्तो देखिने सिसाको टुक्रा २५ थान, भरुवा बन्दुकमा प्रयोग हुने व्यारिङ जस्तो देखिने पदार्थ एक सय १७ वटा, भरुवा बन्दुकमा प्रयोग हुने केप जस्तो देखिने पदार्थ १ बट्टा र बारुद जस्तो देखिने कालो पदार्थ एक सय ग्राम, सुवाग जस्तो देखिने सेतो पदार्थ दुई ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको विशेष टोलीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौतम लिङ्थेपलाई पक्राउ गरेको छ । मादी नगरपालिका–८ मा लुकीछिपी बसेका उनलाई ५ वर्षपछि गाउँबाट प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणीपछि लिङ्थेप भारतमा लुकेर बसेका थिए । केही दिन अघिमात्र घर फर्केको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सङ्खुवासभा जिल्ला अदालत चैनपुरको २०७६ असार २९ गतेको फैसला आदेशले उनलाई ८ वर्ष ११ महिना ११ दिन कैद सजाय सुनाएको थियो । उनलाई जिल्ला अदालत चैनपुरले कैद भुक्तानीका लागि कारागार कार्यालय संखुवासभामा पठाइएको छ ।

सोमबार, २८ माघ, २०८१, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर