विराटनगर । सहकारीको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।‘पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको छ’, ज्ञवालीले भने ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको भन्दै जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष जीबी राई लगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।
जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालन हुन् भने लामिछाने प्रबन्ध निर्देशक हुन् ।
यसअघि रुपन्देही अदालतले लामिछानेसँग एक करोड रूपैयाँ धरौटी मागेका थियो । उनले अदालतले मागेको धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।