विराटनगर । मोरङको रंगेलीबाट पनि राहदानी सेवा प्रदान गर्न सुरु भएको छ । इलाका प्रशासन कार्यालय रंगेलीबाट त्यस क्षेत्रका सेवाग्राही केन्द्रीत गरेर बिद्युतीय राहदानी सेवा विस्तार गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबारबदेखि राहदानी विवरण भराउन जिल्ला प्रशासन कार्यालयमा आउनु नपर्ने गरी सेवा विस्तार गरिएको जानकारी दिएका छन् ।
इलाका प्रशासन कार्यालय रंगेलीको राजस्व कोडमा जम्मा हुनेगरी कृषि विकास बैंक रंगेलीको खातामा रकम जम्मा गरेर अनलाइन राहदावी विवरण भराउन पाउने सुविधा सुरु गरिएको हो । इलाका प्रशासन कार्यालय रंगलीले रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका र रगेली नगरपालिकासहित धनपालथान गाउँपालिका २, ३ र ४ नम्बर वडा तथा कानेपोखरी गाउँपालिकाको १ नम्बर वडा (साविक होक्लाबारी गाविस)का वासिन्दालाई सेवा दिँदै आएको छ ।
इलका प्रशासन कार्यालय रंगेलीका शाखा अधिकृत निर्मलकुमार खतिवडाले विवरण भराउने कार्य सुरु भएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना सार्वजानिक गरेर राहदानी सेवा विस्तारको बारेमा जानकारी दिइएको छ । प्रशासन कार्यालयले शुक्रबार नै सार्वजानिक सूचनामार्फत सेवा सुचारु हुने कुरा जानकारी दिएको थियो ।