विराटनगर । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई आज पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सोही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘प्रहरीले पक्राउ गरी अनुमति माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएको छ,’ उनले भने ।
अदालतले अनुमति दिएपछि ठगी आरोप लागेको पोखरेलको खोजी कार्यमा प्रहरी लागि पर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘अदालतबाट पक्राउ पुर्जी आएको छ । हामी यस घटनाको अनुसन्धानमा लागि पर्नेछौँ,’ उनले भने । उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन फैसला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडी बढेको थियो ।
वरिष्ठ कृषि प्रसाद अधिकृतबाट अवकाश प्राप्त सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबिबिएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बिचमा पटक पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले पैसा लिएका थिए । सो रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर बैआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए ।
छोरीको नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए । त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।
बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् ।
उच्च अदालतका न्यायाधीश द्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ । प्रमाणीकरण भएपछि अदालतले गरेको फैसलाको पूर्ण पाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो