समाचार प्रभावः लेखा समिति सभापतिले हटाए ठगीमा मुछिएका स्वकीय सचिव

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्न रहेको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्यसमेत रहेका पोखरेलले एबीबीबीएसमा नाम निकालिदिने भन्दै एक व्यक्तिको ३८ लाखभन्दा बढि रकम ठगी गरेको समाचार हाम्रोमतले प्रकाशन गरेको थियो ।

समाचार आएपछि शुक्रबार नै पोखरेलले संघीय संसद् सचिवालयलाई पत्र लेखेर स्वकीय सचिवलाई हटाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका हुन् ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमै परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएको छ । शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिलले नै काम गरिरहेका थिए ।

‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ पोखरेलले संसद सचिवालयमा लेखेको पत्रमा भनिएको छ, ‘निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

‘माथिसम्म पहुँच रहेको’ र एमबीबीएसमा नाम निकालिदिने भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले दीक्षा चौधरीको नाम एमबीबीएसको प्रवेश परीक्षामा निकालिदिने भन्दै बाबु बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएको पीडितको भनाइ छ ।

पोखरेलले चौधरीबाट रकम लिएको स्वीकार गरेका छन् । तर, त्यो रकम एमबीबीएसमा नाम निकाल्न नभएको उनको दावी छ । पीडितले आफू ठगिएपछि इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । तर, प्रहरीले पोखरेलको पहुँचको कारण उजुरी नै दर्ता गरेन ।

जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्नका लागि प्रहरीलाई चिठी लेख्न अस्वीकार गरेको थियो । राजनीतिक शक्तिका आडमा पोखरेलले उक्त कार्य गरेको बताइएको छ । त्यसपछि पीडित उच्च अदालतमा पुगेका थिए ।

अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । उनी २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए ।

शुक्रबार, १९ पुष, २०८१, बिहानको ११:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर