ऋषिकेशका स्वकीय सचिव पनि ठगी धन्दामा : एमबीबीएसमा नाम निकालिदिने भन्दै ठगेको आरोप

प्रहरीले जाहेरी दर्ता नगरेपछि पीडित उच्च अदालतमा । अनुसन्धान गर्न अदालतको आदेश

विराटनगर । सहकारी ठगीमा श्रीमती फरार भएपछि विवादमा परेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पनि ठगी धन्दामा संलग्न रहेको खुलेको छ ।

मोरङबाट निर्वाचित नेकपा एमालेका सांसद पोखरेलका स्वकीय सचिव मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्ने ४३ वर्षीय अनिल पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप लागेको हो ।

नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्यसमेत रहेका पोखरेलले एबीबीबीएसमा नाम निकालिदिने भन्दै सो रकम ठगेको आरोप छ । सो प्रकरणमा पोखरेलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । तर, उनी पक्राउ परिसकेका छैनन् ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीको छोरी दिक्षा चौधरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले पटक–पटक गरेर सो रकम लिएका हुन् । विभिन्न मितिमा ७ पटक चौधरीबाट पोखरेलले रकम लिएको पाइएको छ । पोखरेलको खातामा रकम जम्मा भएको उनको बैंक स्टेटमेन्टबाट पनि पुष्टि भएको छ ।

नविल बैंकमा रहेको पोखरेलको खाता नं. ३५१००१७५०३९८१ मा सो रकम चौधरीले जम्मा गरिदिएका छन् । छोरी दिक्षाको नाम एमबीबीएस अध्ययनको लागि निकालिदिने र होस्टलमा बस्ने वातावरण बनाइदिने बताएपछि सो रकम दिएको बौआलाल चौधरीले दिएको जाहेरीमा उल्लेख छ । विराटनगरमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर पोखरेललाई रकम बुझाएको उनले बताएका छन् ।

एमालेको कार्यकर्ता हुँ र अर्थमन्त्री विष्ण पौडेलसँग पनि राम्रो सम्बन्ध छ भन्दै पोखरेलले एमबीबीएस अध्ययन गर्न चौधरीको नाम निकालिदिने भन्दै रकम लिएका थिए । उनले एमबीबीएसमा एमालेको कोटा हुने र त्यो कोटामा नाम निकालिने भन्दै रकम लिएका हुन् । तर, दिक्षाको नाम एमबीबीएसको प्रवेश परीक्षा उत्तीर्ण हुनेको लिष्टमा निस्किएन ।

छोरीको नाम ननिस्किएपछि चौधरीले पोखरेलसँग रकम मागेका थिए । तर, पोखरेलले उल्टै ५० लाख रुपैयाँ चौधरीले नै ऋण लिएको कपाली तमसुक बनाएका छन् । २०७८ फागुन ९ गते पोखरेलले तपाईको हिसाब चुक्ता गरिदिन्छु भन्दै काठमाडौंमा बोलाएर पुरानो मितिमा किर्ते कागज बनाई तमसुक गरेको पीडितले बताएका छन् । ‘छोरीलाई डाक्टर बनाउन पोखरेललाई करिब ३९ लाख रुपैयाँ बुझाएँ’ उनले भनेका छन्, ‘छोरीको नाम त निस्किएन नै, उल्टै मेरो रकम पचाउने र थप रकम लिने उद्देश्यले किर्ते तमसुक बनाएको छ ।’

छोरीलाई डाक्टर बनाउने उद्देश्यले पोखरेललाई लाखौं रकम दिएपनि छोरीको नाम ननिस्किएपछि चौधरीले रकम माग्दा थप पीडित बनेका छन् । आफू ठगीमा परेको भन्दै चौधरीले पोखरेलमाथि कार्वाहीको माग गर्दै उजुरी बोकेर प्रहरी कार्यालयमा धाएका थिए । तर, प्रहरीले उनको उजुरी दर्ता गर्न नै मानेन । चौधरीलाई रकम दिएको बैंक स्टेटमेन्ट र भौचरसहित उजुरी दिँदा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि चौधरीले अदालतमा रिट दायर गरेका थिए ।

पोखरेलबाट ठगीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दर्ता गर्न चौधरी धेरै पटक धाएका थिए । पोखरेलविरुद्ध ठगी मुद्दामा जाहेरी दिँदा प्रहरीले प्रमाण नपुग्ने भन्दै उजुरी नलिएपछि चौधरीले १८ साउन २०७९ मा हुलाक निर्देशनालय विराटगरमार्फत ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा जाहेरी दरखास्त मोरङ प्रहरीमा पढाएका थिए ।

हुलाकले पढाएको पत्र १९ साउन २०७९ मा प्रहरीले हुलाक निर्देशनालय विराटनगरबाट प्राप्त पोष्टम्यान बुकबाट बुझेको देखिन्छ । तर, प्रहरीले बौआलाल चौधरीको नामबाट कुनै पनि उजुरी प्राप्त नभएको जाहेरी दर्ता गरेन ।

पोखरेलविरुद्ध उजुरी दर्ता नगरेपछि चौधरीले उच्च अदालत विराटनगरको साहरा लिन बाध्य भएका थिए । उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागदावीसहित रिट निवेदन दर्ता गराए । चौधरीले ठगीमा संलग्न पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ । गत भदौ ३१ गते उच्चले दिएको परमादेश पुस ११ गते प्रमाणीकरण भएको छ ।

उच्चले दिएको आदेशमा चौधरीले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीमा पुगिसकेको ठहर गर्दै जाहेरी दर्ता गरेर कानुनी कार्वाही अगाडि बढाउन भनिएको छ । ‘निवेदक बौआलाल चौधरीले हुलाकमार्फत पठाएको जाहेरी दरखास्त मिति २०७९/४/१९ गते जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरले बुझेको भन्ने पोष्टमेन (बुक) किताबको सक्कल किताबबाट देखिन आएकोले कानूनको प्रक्रिया पुर्याइ जाहेरी दर्ता गरी कानून बमोजिम प्रक्रिया अगाडि बाढाउनु भनी विपक्षी जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरका नाममा परामदेशको आदेश जारी हुने ठहर्छ । अरुको तपसील बमोजिम गर्नु,’ फैसलामा उल्लेख छ ।

संघीय सांसदका स्वकीय सचिव रहेको कारण पोखरेलविरुद्धको जाहरी प्रहरीले दर्ता नगरेको अदालतको आदेशबाट पुष्टि भएको छ । १० जेठ २०८० मा मोरङ प्रहरीका तत्कालिन मुद्दा फाटका प्रहरी निरीक्षक मोहन पोखरेलले हस्ताक्षर गरेर उच्च अदालत विराटनगरमा पठाएको जवाफमा प्रहरीले हुलाकको जाहेरी प्राप्त नभएको बताएको देखिएको छ ।

‘मेरो पहुँच र पावर माथिसम्म छ, छोरीलाई डाक्टर पढाउन नाम निकाल्ने व्यवस्था मिलाइदिन्छु भनेपछि पैसा दिएको हुँ’ बौआलालले दिएको जाहेरीमा उल्लेख छ । उनले छोरीको नाम ननिस्किएपछि रकम फिर्ता माग्दा जबरजस्ती किर्ते तमसुक बनाएको र धाकधम्की दिने गरेको बताएका छन् ।

ठगी आरोप लागेको पोखरेलले चौधरीले आफ्नो खातामा रकम पठाएको स्वीकार गरेका छन् । तर, सो रकम निकालेर चौधरीकै श्रीमतीलाई दिएको उनको दावी छ । ‘मेरो चिनजानको साथी भएकोले उनले मेरो खातामा रकम पठाएका हुन्’ उनले भने, ‘सो रकम निकालेर मैले उनकै काठमाडौंमा बस्ने श्रीमतीलाई दिएको हुँ ।’

पोखरेलले उच्च अदालतले गरेको फैसला पालना गर्ने बताउँदै प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । बौआलालकी छोरीलाई एमबीबीएसमा नाम निकाल्न रकम लिएको अस्वीकार गर्दै उनले त्यसबारेको सबै कुरा भेटेर जानकारी दिने बताए । ‘म काठमाडौंमा छु, विराटनगर आएपछि तपाईंलाई भेटेर सबै कुरा बताउँछु’ उनले भने, ‘यो समाचारको विषय हैन ।’

एमाले सांसद पोखरेलले सुरुमा एमालेका कार्यकर्ता भास्कर खनाललाई स्वकीय सचिव राखेका थिए । खनाल विदेश गएपछि पोखरेललाई स्वकीय सचिव नियुक्त गरका हुन् । पोखरेलले चौधरी मात्र हैन धेरैलाई ठगी गरेको दावी एमालेकै कार्यकर्ताहरुले गरेका छन् ।

चौधरीले आफू ठगिएको बारेमा २७ पुस २०७८ मा नेकपा एमाले मोरङमा पनि निवेदन दिएका थिए । एमालेमा दिएको निवेदनमा पोखरेलबाट ठगी भएको रकम फिर्ता गराइदिन आग्रह गरिएको छ । पोखरेलले निवेदन दिएको बेला नेकपा एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल नै थिए । २०७८ पुस २३ गतेको अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।

पोखरेल अध्यक्ष भएपछि आएको निवेदनबारे कुनै वास्ता नगरेको पीडितको भनाइ छ । बरु ठगीको आरोप लागेका व्यक्तिलाई नै उनले आफ्नो स्वकीय सचिव नियुक्त गरे । पोखरेलको स्वकीय सचिव भएवापत अनिल पोखरेलले अधिकृत सरहको सेवा सुविधा उपभोग गरिरहेका छन् ।

संघीय सांसद पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा फरार अभियुक्त छन् । मोरङको धनपालथान ४ स्थित उमागौरी सहकारीको करोडौं रकम कोइराला सञ्चालक भएको बेला अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सो मुद्दाको अनुसन्धानको क्रममा पनि प्रहरीले कोइरालालाई सोधपुछसमेत गरेको थिएन ।

गत मंसिर २७ गते अदालतमा सहकारी ठगीको मुद्दा दर्ता भएर पुस ३ गते पक्राउ पुर्जी जारी भएपनि कोइराला पक्राउ परेकी छैनन् । सांसद पोखरेलले एक टेलिभिजनलाई केहि दिन अगाडि दिएको अन्तवार्तामा आफ्नी श्रीमती घरमै रहेको भन्दै कानुनी प्रक्रियामा सहयोग गर्ने बताएका थिए ।

विराटनगरको महेन्द्र रात्री विद्यालयकी शिक्षिका रहेकी कोइराला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि विद्यालयमा हाजिर भएकी छैनन् । श्रीमती सहकारी ठगीमा मुछिँदा पोखरेलले श्रीमतीको कुनै दोष नरहेको र सहकारीका अध्यक्षले नाम मात्र राखेको दावी गर्दै आएका थिए । अदालतमा मुद्दा दर्ता भएपछि पनि आफू र फरार श्रीमती निर्दोश रहेको दावी गरिहरहेका छन् ।

फायल फोटोः सांसद ऋषिकेश पोखरेलको साथमा उनका स्वकीय सचिव अनिल पोखरेल

यो पनि हेर्नुहोस्

समाचार प्रभावः लेखा समिति सभापतिले हटाए ठगीमा मुछिएका स्वकीय सचिव

शुक्रबार, १९ पुष, २०८१, बिहानको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर