प्रधानाध्यापकको भत्ता रकम विद्यार्थीलाई वितरण

विराटनगर । विराटनगरको गायत्री संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक चूडामणि नेपालले प्रधानाध्यापक भएवापत आफूले प्राप्त गर्ने तीन वर्षको भत्ता विद्यार्थीहरुलाई नै वितरण गरेका छन् ।

विद्यालयको ३९ औं स्थापना दिवसको सन्दर्भ पारेर प्रधानाध्यापक नेपालले विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रतिव्यक्ति ५०० रुपैयाँका दरले प्रोत्साहनस्वरुप वितरण गरेका हुन् । विद्यालयका प्रधानाध्यापकले वार्षिक ६ हजार रुपैयाँ भत्ताबापत सुविधा पाउने गरेको र तीन वर्षको सोही रकम विद्यार्थीलाई वितरण गरेको उनले बताए ।

त्यस अवसरमा पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत नारायण पोखरेलले आफ्ना पिता माताका नाममा स्थापना गरिने ‘टङ्क मञ्जरी स्मृति छात्रवृति कोषबाट’ १० जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् । विद्यालयमा निकट भविष्यमा नै आमा बाबाको नाममा एकलाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरे ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरु कविता कार्की, बलराम कोइराला, दुरेन्द्रकुमार मण्डल, अन्जना भट्टराई, र पुण्यकला तिम्सिनालाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पोखे्रल, सदस्यहरु तरानन्द मण्डल, तुलसीराम विश्वकर्मा, गीता विश्वकर्मा, पुनम कामत, कल्यानीकुमारी कर्णलाई पनि विद्यालयले सम्मान गरेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका शिक्षा अधिकृत कृष्ण भट्टराईले विद्यालयले अहिलेको आवश्यकता अनुसार पूर्वीय र पाश्चात्य दुवै धारलाई एकसाथ अगाडि बढाइरहेको भन्दै विद्यालयलाई नमुनायोग्य बनाउन निरन्तर प्रयत्न गर्नुपर्ने बताएका थिए । संस्कृत विद्यालय भए पनि यहाँ नेपाली, मुस्लिम, राई, लिम्बू, थारु, चौधरी, राजवंशी, मैथिली, दलित र अत्यन्त पिछडा वर्गका केटाकेटीहरु समभावले संस्कृत शिक्षा भाषा, साहित्य, व्याकरण, र योगशास्त्र समेतको अध्ययन गरिरहेका छन् ।
विद्यालयले कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा समेत पठन पाठन गराइरहेको प्रधानाध्यापक चूडामणि नेपालले जानकारी गराए ।

क्रममा वार्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद, नृत्य र अन्य विधामा समेत पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक प्रदिपकुमार चापागाईंले जानकारी दिए ।

बिहिबार, १८ पुष, २०८१, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर