विराटनगर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आइतबारदेखि शुरू भएको छ । किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा आइतबार ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खारधामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको शुरूआता गरिएको छ ।
वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत समुदायमा रहेको छ ।



