विराटनगर । नेकपा(एकीकृत समाजवादी)ले स्थायी कमिटीमा सदस्य विस्तार गर्ने भएको छ । बुधबार आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले दशौँ महाधिवेशनअघि सोही कमिटीमा रहेका १७ नेतालाई थप गर्ने निर्णय गरेको छ । निर्णय भने औपचारिक रूपमा सार्वजनिक गरीएको छैन । निर्णयप्रति भने कोशी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका उपमहासचिव राजेन्द्र राईले फरक मत राखेका छन् । यसअघि स्थायी कमिटीमा पदाधिकारी मात्रै रहने निर्णय गरीएको थियो । विधानविपरीत सदस्य विस्तार गर्न नहुने भन्दै राईले फरक मत राखेका हुन् ।
‘महाधिवेशनबाट पारित भएको विधानमा पोलिट्ब्युरोको एकतिहाइ स्थायी कमिटी रहने भनिएको छ,’ राईले भने पोलिट्ब्युरो १०८ जनाको छ । स्थायी कमिटीमा १७ जना थप्दा ४१ जनाको हुन्छ । । त्यो पोलिट्ब्युरोको एकतिहाइभन्दा बढी हो ।’
राईले स्थायी कमिटीमा सदस्य थप गर्दा तुलबहादुर गुरुङ लगायतका नेताहरूको नाम छुटाउन नहुने समेत धारणा राखेको स्रोतले जनाएको छ । स्थायी कमिटीमा थप गरिएका १७ नेतासहितको बैठक शुक्रबार बस्ने तयारी भएको छ ।
स्थायी कमिटीको बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने तयारी छ । तर, आजको बैठकमा कार्यविभाजनको ड्राफ्ट पनि नबाँडिएको र थपिएका नेताहरूसहितको बैठकबाट नै निर्णय गर्ने जनाइएको छ ।
गत असारमा राष्ट्रिय महाधिवेशन गरेको पार्टीले हालसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन । नेताहरूले दाबी नछाड्दा जिम्मेवारी दिन सकस भएको छ ।