सताराममा म्याद गुज्रेको औषधि

विराटनगर । विराटनगरको नोबेल अस्पतालको गेट अगाडि रहेको सिताराम फार्मेसीमा म्याद गुज्रेको औषधिभेटिएको छ । औषधि पसलले बिक्री गरेको औषधि बिरामीले प्रयोग गरेपछि एक बालिका बिरामी भएपछि औषधि व्यवस्था विभागले सोमबार पसलमा अनुगमन गरेपछि युसेटामोल नामक औषधिम्याद गुज्रिएको भेटिएको हो ।

झापा गौरीगञ्ज नगरपालिका–४ की ५ वर्षीया आर्या खत्री नोबेल अस्पताल विराटनगरमा उपचारको लागि आर्याका आमा बुबाले ल्याएका थिए । अस्पतालमा छोरीको मुखको अपरेशन पश्चात हस्पिटल बाहिर रहेको सिता फार्मेसीबाट युसेटामोल खरिद गरेको औषधि आर्यालाई प्रयोग गरिएको थियो । उक्त औषधि प्रयोग गरेको केही समयमा छोरी आर्यालाई झन् साह्रो भएको उनकी आमाले बताइन् । छोरीलाई झन् साह्रो भएपछि नर्सलाई आमाबुबाले गुहारेका थिए । यता नर्सले उक्त औषधि हेर्दा म्याद गुज्रिएसँगै उत्पादन मिति नै मेटिएको फेलापारेकी थिइन् ।

खत्री परिवारले फार्मेसीबाट खरिद गरिएको औषधि म्याद सकिएको भन्दै औषधि व्यवस्था विभागमा उजुरी गरेसँगै औषधि व्यवस्था विभागका फार्मेसी सुपरभाइजर एलन खड्काको नेतृत्वमा आएको टोलीले औषधि फार्मेसीमा अनुगमन गरेको थियो । बेलै औषधि हेरेका कारण पाँच वर्षीय छोरी आर्या खत्रीलाई ठूलो घटना हुनबाट जोगाइयो आर्याका बुबा लक्षण खत्रीले बताए ।
यता औषधि व्यवस्था विभागका फार्मेसी सुपरभाइजर एलन खड्काका अनुसार बिरामीका आफन्तले लिखित उजुरी दिएसँगै हामीले औषधि पसलको अनुगमन गरेको बताए । अनुगमन पश्चात केही औषधिसमेत बरामद गरेको खड्काले बताए । ‘हामीले उत्पादन मिति स्पष्ट नदेखिने खालका केही औषधि नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘यस बारेमा थप अनुसन्धान हुन्छ । यदि कैफियत भेटिए कारबाहीको दायारमा आउनेछ ।’

सिताराम फार्मेसीले भने हालसम्म आरोप पुष्टि नभएकाले कुनै प्रतिक्रिया दिन नसक्ने जनाएको छ । फार्मेसीका प्रतिनिधिले औषधि व्यवस्था विभागले गरेको अनुसन्धानपछि निस्कने निष्कर्षलाई स्वीकार गर्ने बताएको छ ।

बुधबार, २६ मंसिर, २०८१, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर