विराटनगर । प्रहरीलाई रोजगारमूलक सीप र प्राविधिक शिक्षा प्रदान गर्ने विषयमा कोशी प्रदेश प्रहरी कार्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयबीच छलफल भएको छ ।
मंगलबार कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले मोरङको हात्तीमुढामा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालयको भ्रमण गरेपछि उपकुलपति डा. सुवासश्री पोखरेलसँग यस विषयमा विस्तृत छलफल गरेका हुन् ।छलफलका क्रममा प्रहरीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुबै पक्षले समझदारीपत्र तयार गर्ने सहमति गरेका छन् । डिआईजी खापुङले बहालवाला तथा अवकाशप्राप्त प्रहरीलाई प्राविधिक शिक्षामा प्रशिक्षित गराउँदा कार्यक्षेत्रमा प्रभावकारिता बढ्ने र अवकाशपछि पनि बेरोजगार बस्न नपर्ने बताए ।
विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयालले स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा प्रहरीका लागि छात्रवृत्तिको व्यवस्था गर्न सकिने जानकारी गराएका थिए । डिआईजी खापुङले विश्वविद्यालयका विभिन्न प्रयोगशाला, व्यावसायिक केन्द्र, र अनुसन्धान विभागहरूको अवलोकन गरेका थिए ।
उपकुलपति डा. पोखरेलले विश्वविद्यालयका विभिन्न प्राविधिक शिक्षाका कार्यक्रम प्रहरीलाई प्रदान गर्न तयार रहेको बताएका छन् । ‘प्रहरी राज्यको महत्त्वपूर्ण संस्था हो, र कुलपतिको निर्देशन अनुसार हामीले सञ्चालन गरिरहेका शिक्षामार्फत प्रहरीलाई दक्ष बनाउन सहयोग गर्न इच्छुक छौं’ उनले भने ।
यो सहकार्यले प्रहरीलाई सीपमूलक र प्राविधिक रूपमा दक्ष बनाउने अपेक्षा गरिएको छ । जसले उनीहरूको सेवा अवधि र अवकाशपछिको जीवनलाई थप उपयोगी बनाउन मद्दत गर्ने विश्वविद्यालयले जनाएको छ ।