विराटनगर । नक्कली कागजात बनाएर कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएका छन् ।
सरकारी कर्मचारी भएको नक्कली परिचयत्र बनाएर जापान छिर्ने प्रयासमा रहेको बेला टोकियो विमानस्थलबाट डिपोर्ट भएका खोटाङका ३६ वर्षीय दावा शेर्पा र जनक राई तथा रसुवाका २२ वर्षीय वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीमा दिएका हुन् ।
नक्कली कागजात बनाएर जापान प्रवेश गर्न खोजेको पाइएपछि कात्तिक १४ गते मन्त्री अधिकारीसहित पाँच जनालाई जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको भएपनि नवलपरासीकी अनिता तिम्सिना र मन्त्री अधिकारीलाई त्यसै छाडेको थियो ।
प्रदेश सरकारलाई औपचारिक जानकारी नदिई र आवश्यक प्रक्रिया पुरा नगरी मन्त्री अधिकारी जापान गएको बारेमा हाम्रोमतले समाचार प्रकाशन गरेको थियो । त्यसपछि मुख्यमन्त्रीको निर्देशनमा अधिकारीले बुधबार पदबाट राजीनामा दिएका थिए । उनले आफूसँग नक्कली कागजात बोकेका व्यक्तिहरु पनि जापान जान लागेको जानकारी भएपछि जापानको कार्यक्रम क्यान्सिल गरेर नेपाल फर्किएको बताएका थिए । तर, उनी आफैं नेपाल फर्किएको नभई जापानले डिपोर्ट गरेको प्रष्ट भइसकेको छ ।
पक्राउ परकोहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद थपेर अनुसन्धान गरिरहेको छ । तर, प्रहरीले चौतर्फी दबाबको कारण यो विषयमा औपचारिक जानकारी दिएको छैन । स्रोतका अनुसार प्रहरीले पत्रकार सम्मेलन गरेर तीन जना पक्राउ परेको बारे जानकारी दिने तयारी गरेको थियो । तर, सरकार तथा एमालेका नेताहरुको दबाबको कारण प्रहरीले पत्रकार सम्मेलन गरेको छैन ।
त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख तिर्थराज भट्टराईले मन्त्री अधिकारीसहित पाँच जनालाई जापानले डिपोर्ट गरेको पुष्टि गरेका छन् । ‘एउटै विमानबाट पुगेका उनीहरुको कागजात शंकास्पद लागेपछि जापानले पाँच जनालाई नै डिपोर्ट गरेको हो’ उनले भने, ‘तीन जनाको नक्कली कागजात फेला परेपछि तत्काल प्रहरीको जिम्मा लगाएको भएपनि मन्त्री अधिकारी र तिम्सिनालाई तत्कालको लागि छाडिएको हो ।’ अध्यागमनले छाडेको भएपनि उनीहरुको कल डिटेल तथा काजगातको बारेमा प्रहरीले अनुसन्धान गर्ने उनको भनाइ छ ।
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार उनीहरुले प्रारम्भिक बयानमा जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख बुझाएको बयान दिएका छन् । धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई १० लाख र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनारलाई २० लाख नगद बुझाएको उनीहरुले प्रहरीलाई बताएका छन् । मानव तस्करी गिरोहमा आबद्ध पाण्डे र सुनारसहित नुवाकोटका जुगल रिजाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मन्त्री अधिकारीसँगै जापानबाट डिपोर्ट भएका शेर्पाले खोटाङस्थित ऐँशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोसीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को नक्कली परिचयपत्र बनाएको भेटिएको छ । जापान पठाउने ‘गिरोह’ले नै फर्जी कागजात बनाएर उनीहरूलाई दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
अहिलेसम्मको अनुसन्धानबाट महेश पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । कागजात तयार गर्ने र जापानमा लगेर छाड्ने योजनामा मन्त्रीको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न २ जना फरार रहेकोले खोजी भइहरेको प्रहरीको भनाइ छ ।
फरार दुई जनालाई पक्राउ गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले पूर्वमन्त्री अधिकारीलाई अनुसन्धानको दायरामा ल्याएको छैन । गिरोहका सदस्यले जापान हिँडेका तीन जनाको मोबाइलमा मन्त्रीको फोटो पठाएर ‘उहाँसँगै टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रममा जानु’ भनेर म्यासेज गरेको भेटिएको छ ।
मानव तस्करीमा मुछिएपछि मन्त्रीबाट राजीनामा दिएका अधिकारीले भने मानव तस्करको गिरोहले आफूलाई प्रयोग गर्न खोजेको दाबी गरेका छन् । ‘मानव तस्करले प्रयोग गर्न खोजेका रहेछन् । थाहा पाएपछि विमानस्थलबाटै फर्किएँ,’ उनले राजीनामापछिको पत्रकार सम्मेलनमा भनेका छन् । स्रोतका अनुसार मोरङको रतुवामाई नगरपालिका घर भएका एमाले कार्यकर्ता गोपाल गौतमले टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारीलाई जापान जाने प्रबन्ध मिलाइदिएका थिए ।
स्रोतका अनुसार मोरङको रतुवामाई नगरपालिका घर भएका एमाले कार्यकर्ता गोपाल गौतमले टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारीलाई जापान जाने प्रबन्ध मिलाइदिएका थिए । गौतमको घर रतुवामाई वडा नम्बर ९ इटहरा हो । उनी काठमाडौंमा बसेर सामान्य ठेक्कापट्टा र सिंहदरबारभित्रमा दलालीको काम गर्दै आएको स्रोतले जनाएको छ ।
चिनेजानेकै मान्छेले भनेपछि सबै कुरा ठीक होला भनेर जापान जान पासपोर्ट बुझाएको अधिकारीले स्वीकार गरेका छन् । भिसा र टिकटको काम उनैले गरिदिएको उनको भनाइ छ । गौतमले महेश पाण्डेमार्फत अधिकारीको जापाना जाने प्रबन्ध मिलाइदिएको बुझिएको छ ।
अधिकारीसँग जापान उड्ने दिन त्रिभुवन विमानस्थलमा पाण्डेको पनि भेट भएको खुलेको छ । टोकियोमा हुने कार्यक्रमको नेपालर्फको अर्गनाइजर आफू भएको जानकारी पाण्डेले गराएको अधिकारीले पनि स्वीकार गरेका छन् ।