विराटनगर । मोरङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सायहता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी विराटनगरमा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याइएको हो । विराटनगर महानगरपालिका–११ बसपार्कमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’ को कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले उद्घाटन गरे ।
कक्षको उद्घाटन गर्दै डीआईजी खापुङले चाडपर्वका बेला यात्रुलाई आइपर्ने समस्याको चाँडोभन्दा चाँडो सम्बोधन गर्न प्रहरीलाई निर्देशनसमेत दिए । खापुङले प्रदेशका १४ वटै जिल्लाका विभिन्न ठाउँ एवं सवारीसाधनको चाप धेरै भएका स्थानमा ‘यात्रु सहायता कक्ष’को स्थापना गरिने बताए ।
चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने ठूलो संख्याका यात्रुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै कक्षको स्थापना गरिएको र सडकमा निगरानी बढाइएको उनको भनाइ छ । ‘बाढी र पहिरोका कारण सडक यात्रा त्यति सहज छैन । अब विस्तारै सहज हुँदै जान्छ,’ डीआईजी खापुङ भन्छन्, ‘चाडपर्वमा सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ । सहायता कक्षले सर्वसाधारणको यात्रालाई सहज, सुरक्षित एवं भरपर्दो बनाउन, यात्रुमैत्री वातावरण तयार पार्न तथा सार्वजनिक सवारीलाई नियमन र निगरानी गर्न सहज बनाउने छ ।’
संवेदनशील ठाउँ भएका कारण बसपार्कमा प्रहरीको प्रभावकारी उपस्थिति आवश्यक रहेको उनी बताउँछन् । सडक यात्रालाई सहज बनाउन तथा ट्राफिक नियमको उल्लंघन रोक्न यातायात व्यवसायी, मजदुर, प्रहरी तथा सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको खापुङले बताए ।
‘यातायात क्षेत्रमा बिचौलीयाको जगजगी हुनसक्छ । त्यस्ताले यातायात क्षेत्रको बदनाम गराउँछन् । गलत गर्नेलाई कारबाही गरेर समाजका अगाडि उदाङ्गो बनाउनुपर्छ । विपद्ले गर्दा यातायात क्षेत्र सहज छैन । त्यही पनि सबै मिलेर नेपालीका चाडपर्वलाई रमाइलो र हर्षोल्लासपूर्ण बनाउनुपर्छ,’ उनले भने ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा मोरङमा १० ठाउँमा सहायता कक्षको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार कक्षलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा यात्रुका समस्या तत्काल सम्बोधन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ । मोरङका विभिन्न ठाउँमा कक्ष स्थापना गरिने लम्सालले बताए ।
उनका अनुसार यात्रुको सहजताका लागि सबै सरोकारवालासँग समन्वय भइरहेको छ । यात्रामा कुनै समया आए तत्काल सहायता कक्ष र ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायलाई जानकारी गराउन यात्रुहरुलाई आह्वान गरिएको इन्स्पेक्टर लम्साल बताउँछन् । ‘यातायात व्यवसायीलाई यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर सवारीसाधन चलाउन अनुरोध गरिएको छ,’ उनले भने ।
सुनौलो पूर्वनेपाल यातायात सेवा प्रा।लिका महासचिव धर्मदेव साहले यात्रुमैत्री सेवा प्रवाहका लागि यातायात व्यवसायी र मजदुर प्रतिबद्ध रहेको बताए । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले सवारीसाधन र सार्वजनिकस्थलका गलत गतिविधि रोक्न प्रहरी सक्रियता बढाउनुपर्ने बताए । ‘सबैको सहयोगमा गलत गतिविधिलाई निर्मूल पार्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘यसमा प्रहरीको भूमिका अहम् हुन्छ ।’