रोकिएन कोशी अस्पतालमा बेथिति : जाँदाजाँदै डा.सिंहको मनमौजी

पदमुक्त भएपछि ७ कर्मचारी नियुक्तिसँगै लेखा अधिकृतलाई घरभाडा सम्झौता र करोडौंको भुक्तानी !

विराटनगर । स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार गत असोज ६ गते कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ड (मेसु) बाट पदमुक्त भएका डा. रविनराज सिंहले जथाभावी निर्णय गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोशीको मेसुमा डा. रुना झालाई नियुक्त गर्ने निर्णय गरिसकेपछि डा.सिंहले मिलेमतोमा ७ जना कर्मचारीको नियुक्ति गरेका छन् भने हतार–हतारमा करोडौं रकम भुक्तानी दिएका छन् ।

मेसुबाट हटिसकेपछि नयाँ मेसुको पदबहाली नभएको अबधिमा डा. सिंहले अस्पताल विकास समितिका पदाधिकारी र अस्पतालका लेखा अधिकृत बालकृष्ण दंगालसँगको मिलेमतोमा कर्मचारी नियुक्ति, भुक्तानी र आफू तथा लेखा अधिकृतले गैरकानुनी रुपमा घरभाडा लिने सहमति गरेको आरोप लागेको छ । नयाँ मेसु आउने निश्चित भएपछि हतारमा गरिएको भुक्तानीबारे अस्पतालकै कर्मचारीहरुले प्रश्न उठाएका छन् ।

डा.सिंहले पदमुक्त भएपछि कर्मचारी नियुक्त गरेको सुनेको भएपनि आफूलाई पूर्ण जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालले बताएका छन् । ‘मेसुलाई ज्यालादारी कर्मचारी नियुक्त गर्ने अधिकार हुन्छ’ उनले भने, ‘जाँदाजाँदै मलाई पनि जानकारी नदिई केहि कर्मचारी नियुक्त गरेको सूचना छ । त्यसलाई म खारेज गर्छु ।’ जथभावी गरिएको नियुक्त आफूले अस्पताल विकास समितिको बैठक राखेर खारेज गर्ने उनले बताएका छन् ।

स्रोतका अनुसार डा. सिंहले नयाँ मेसुमा डा. झा आउने स्वास्थ्य मन्त्रालयको निर्णय भएपछि सुनसरीको रामधुनी नगरपालिका ५ कि रामकुमारी चौलागाईंलाई खरिदार तहमा नियुक्ति दिएका छन् । उनलाई ३२ हजार ९०२ रुपैयाँ तलब पाउनेगरि २०८० असोज १० गतेको मितिबाट एक महिनाको लागि नियुक्ति दिइएको छ । नियुक्ति दिएको मिति पनि असोज १० गते नै छ । करार सम्झौतामा दुबै पक्षको सहमतिमा करार थप गर्न सकिने र अस्पतालले खटाएको काम गर्नुपर्ने उल्लेख छ ।

पदमुक्त भएपछि ९ जनालाई नियुक्ति

चौलागाईंसहित अन्य ६ जनालाई मेसुले नियुक्ति दिएको अस्पताल प्रशासनले जनाएको छ । जसमा पाँचौ तहको कम्प्युटर अपरेटर रहेका विनोद राजभरलाई आठौं तहमा नियुक्त गरिएको छ भने पाँचौं तहकै ज्यालादारीमा रहेका ओभरसियर सुभाषकुमार कर्णलाई सातौं तहको इञ्जिनियरमा नियुक्त गरिएको छ । यस्तै एक जना अहेब र अन्य कार्यालय सहयोगी नियुक्त गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार खरिदारमा नियुक्त भएकी चौलागाईंको सिफारिस लेखा अधिकृत दंगालले गरेका हुन् भने राजभरको सिफारिस अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले गरेका हुन् । उनको सिफारिसमा एक जनालाई अहेबमा पनि नियुक्त गरिएको स्रोतले जनाएको छ । नियुक्ति पाएका अन्य पनि अस्पतालका हर्ताकर्ताको सिफारिसमा गरिएको हो ।

त्यसो त कर्मचारी नियुक्ति मात्र नभएर डा.सिंहले जाँदाजाँदै हतार–हतारमा करिब ४ करोड रुपैयाँ विभिन्न खरिद वापतको भुक्तानी पनि गरको छन् । ‘नयाँ मेसु आउने निश्चित भएपछि हतार–हतार भुक्तानीको चेक काटिनु शंकास्पद छ’ अस्पतालका एक कर्मचारीले भने, ‘अस्पतालले तेस्रो चौमासिकमा खरिद गर्ने योजना बनाएको सामग्रीहरु पनि माथीबाट सेटिङका अहिले नै बजेट ल्याएर खरिदपछि भुक्तानी गरिएको छ ।’ अस्पतालमा नयाँ मेसु डा.ले सोमबार पदबहाली गर्दा पनि डा.सिंहले चेक काटिरेहको देखिएको ती कर्मचारीले बताए ।

गैरकानुनी रुपमा घरभाडा भुक्तानी
डा.सिंहले अस्पतालबाट कानुनविपरित घरभाडा सुविधा पनि लिएको आरोप लागेको छ । अस्पतालको ऐनमा नभएको सुविधा मेसु मात्र नभएर लेखा अधिकृत दंगालले पनि लिएको पाइएको छ । मेसुको घरभाडा मासिक २५ हजार रुपैयाँ र लेखा अधिकृत दंगालको घरभाडा मासिक १६ हजार ६ सय रुपैयाँ अस्पतालले भुक्तानी गर्दै आएको छ । मेसुलाई अस्पतालले आवास उपलब्ध गराउन सक्ने भएपनि लेखा अधिकृतले घरभाडा पाउने कानुनी प्रबन्ध छैन ।

लेखा अधिकृत दंगाल बस्दै आएको विराटनगर ३ बिहीबारेको शम्भुप्रसाद साहुको घरको भाडा अस्पतालले तिरिरहेको छ । साहुको घरभाडा लिने सम्झौता २०८१ असार १ गतेबाट ८२ असार मसान्तसम्म कायम रहने सम्झौतापत्रमा उल्लेख छ । तर, अस्पतालका मेसु सिंहले हस्ताक्षर गरेको सम्झौतामा हस्ताक्षर मिति भने २०८० साउन ५ गते उल्लेख छ । त्यसबेला भने अस्पतालको मेसु डा.चन्द्रभाल झा थिए । सोही गलत सम्झौताको आधारमा अस्पतालले घरभाडा भने घरधनीको खातामा भुक्तानी पठाइसकेको छ ।

अस्पतालका लेखा अधिकृतको घरभाडा अस्पतालले तिरेको बारेमा यसअघि नै प्रश्न उठिरहेको थियो । गत वर्ष भाडा भुक्तानी भएपनि सम्झौता नविकरण भएको थिएन । तर, पछिल्लो पटक मेसु परिवर्तनको निर्णय मन्त्रालयले गरेपछि हतारहतारमा नयाँ सम्झौता गर्दा पुरामै मितिमा डा.सिंहले हस्ताक्षर गरेको स्रोतले जनाएको छ । ‘गलत काम हतारमा गर्दा पुरामै मितिमा सहि ठोकेछन्’ अस्पतालका एक अधिकृतले भने, ‘होटलमा बसेर गरेको सम्झौता भएकोले यस्तो भएको हो ।’

ती कर्मचारीका अनुसार घरभाडाको सम्झौता, कर्मचारी नियुक्ति र करोडौं रकम भुक्तानीको निर्णय मेसु परिवर्तनपछि एक सेकुवा कर्नरमा बसेर भएको हो । विराटनगरको विजुली अफिस नजिकको एक सेकुवा कर्नरमा डा.सिह, लेखा अधिकृत दंगाल, अस्पताल विकास समितिका केहि पदाधिकारी र केहि कर्मचारी बसेर सबै निर्णय गरेको उनले बताए ।

पदबाट मुक्त भइसकेपछि गरिएको निर्णयको बारेमा प्रतिक्रिया लिने प्रयास गर्दा डा.सिंहले साथीभाइको दबाबका कारण केही व्यक्तिलाई १ महिनाको नियुक्ति दिएको बताएका छन् । लेखा अधिकृतले आफू आउनु अघिदेखि नै बसेको घरको भाडा अस्पतालबाटै भुक्तानी गर्ने गरेकाले आफूले त्यसलाई निरन्तरता मात्र दिएको उनको भनाइ छ ।

अस्पताल विकास समितिका सदस्य रहेका हरि भट्टराईले नयाँ नियुक्तिबारे सुनेको बताउँदै विकास समितिलाई जानकारी नभएको बताए । ‘नियुक्त मेसुले गरेको भन्ने सुनेको छु’ उनले भने, ‘समितिको बैठक नबसी हामीलाई जानकारी हुँदैन ।’

अस्पतालमा सुधार गरेको दावी
अस्पतालका लेखा अधिकृत दंगालले भने आफूहरुले कुनै गलत काम नगरेको दावी गरेका छन् । ‘अस्पतालले दिनैपर्ने रकम भुक्तानी दिएको हो’ उनले भने, ‘कर्मचारी नियुक्तिको विषयमा मलाई जानकारी छैन ।’

दंगालले सेकुवा कर्नरमा खाजा खाएको भने स्वीकार गरेका छन् । ‘मेसुसँग बसेर खाजा खाएका हौं’ उनले प्रश्न गरे, ‘हामीले खाजा खानै नपाउने हो र ?’ गैरकानुनी रुपमा घरभाडा अस्पतालले तिरेकोबारे विषय सुरुमा अस्वीकार गरेका उनले शम्भुप्रसाद साहुको घरमा को बस्छ भन्ने प्रश्न गरेपछि भने आफू बस्दै आएको र अस्पतालले भाडा तिरिरहेको स्वीकार गरे । ‘मैले घरभाडा लिएको छैन, अस्पतालले तिरेको हो’ उनले भने, ‘विराटनगरमा धेरै कर्मचारी बस्ने घरको भाडा सम्बन्धित कार्यालयले तिरिरहेको छ, बुझ्नुहोला ।’

लेखा अधिकृत दंगालले आफू आएपछि अस्पतालमा धेरै बेथिति हटाएको र सुधार गरेको दावी गरेका छन् । खरिद प्रक्रियामा भएको अनियमिमता र भुक्तानीमा ढिलाई हुने प्रबृत्तिलाई अन्त्य गरेको दावी गर्दै उनले त्यसको फाइदा लिँदै आएकाहरु आफूविरुद्ध लागेको आरोप पनि लगाएका छन् ।

कर्मचारी नियुक्तिमा पुरानै बेथिति
यसअघि अस्पताल विकास समितिका अध्यक्ष सिलवाल र मेसु सिंहको मिलेमतोमा विनाप्रतिस्पर्धा ९ जना चिकित्सक नियुक्ति गरिएको थियो । गत भदौ २ गते अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अफिसर नियुक्त गरेको हो ।

त्यसबेला पनि मिलेमतोमा नियुक्त गरेको भन्दै प्रश्न उठेपछि अस्पतालमा आएका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले त्यसलाई सुधार गर्न निर्देशन दिएका थिए । स्वास्थ्य मन्त्रालयले पनि अस्पताललाई स्पष्टिकरण सोधेको थियो । तर, कुनै कार्वाही भएन ।

अस्पतालमा लेनदेनको आधारमा कर्मचारीको नियुक्ति हुने गरेको आरोप लाग्दै आएको छ । नेतृत्वमा रहेको अस्पताल प्रशासन र विकास समितिकै कारण कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।

मङ्गलबार, १५ असोज, २०८१, बिहानको १०:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर