विराटनगर । सहकारी हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेट्वर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
गृहमन्त्री रमेश लेखकको निर्देशन पछि उनलाई पक्राउ गरीएको हो । उनलाई प्रहरीले काठमाडौंबाटै आइतबार पक्राउ गरेको हो । जोशीलाई पोखरास्थित सूर्यदशर्न सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने भएको छ।
गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री लेखकले आइतबार मात्रै प्रहरीलाई निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै छवि समातिएका हुन् ।यही बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको थियो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयमा पठाएको अवस्थामा गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिएका हुन् ।
अब प्रहरीले संसदीय छानबिन समितिबाट कारबाहीका लागि सिफारिस भएका र सहकारीको बचत हिनामिनामा दोषी देखिएकालाई पक्राउ गर्न थालेको हो ।
यसअघि मन्त्रिपरिषद्ले संसद्बाट आएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन २०८१ लाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
जसअनुसार कार्यान्वयनको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई तोकिएको थियो ।
प्रतिनिधिसभाको गत भदौ ३१ गतेको बैठकमा ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश भएको थियो ।