विराटनगर । हरेक वर्ष जस्तै यसवर्ष पनि कोशी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको छ । आउदै गरेको दशैं, तिहार, छठ पर्वसम्म १४ जिल्ला रहेको कोशी प्रदेशमा अवलम्बन गरिने विशेष सुरक्षा योजना प्रहरीले कार्यान्वयनमा ल्याएको हो ।
भर्चुअल माध्यमद्वारा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी चन्द्रकुवेर खापुङले मंगलबार मातहतका जिल्ला प्रहरी प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यका साथ आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गरी समाजमा शान्तिसुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए । उनले चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुला सीमा नाकाको कारण हुने चोरी तस्करी, लागुऔषधको प्रयोग तथा ओसारपसार, आतिसबाजी तथा पटकाजन्य पदार्थहरुको ओसारपसारलाई नियन्त्रण गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवतजावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्षको स्थापना गरी सवारी दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिए ।
सुरक्षा निकायको प्रभावकारी परिचालन, दुरुस्त कारबाही र शीघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाएर भरपर्दो सुरक्षा वातावरण बनाउने उद्देश्यले प्रहरीले चाडपर्व (दसैं, तिहार र छठ) लक्षित सुरक्षा योजना सार्वजनिक गरेको उनले बताए । चाडवर्पमा हुनसक्ने हत्या, अपहरण, चोरी, ठगी, महिला हिंसा, कुटपिट, डकैती, पाकेटमारी, स्न्याचिङ, लुटपाट, जुवा, अवैध मदिरा बिक्रीवितरण, आगजनी, विस्फोटक पदार्थ ओसारपसार, तस्करी, सवारी दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघनजस्ता घटना न्युनीकरण गर्नु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।
प्रदेशभरीमा ८ हजार भन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए । दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिने डिआइजी खापुङले बताए । त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरुलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको उनले बताए । ठुलो आर्थिक कारबोर हुने सुन पसल, सपिङ महल, बैकिङ्ग क्षेत्रमा सादा पोशाकका प्रहरीमार्फत विशेष निगरानी बढाइने उनले बताए । त्यसैगरी सीमा क्षेत्रबाट हुने चोरी पैठारी–निकासी, लागुऔषधको कारोबार, भीडभाड हुने क्षेत्रमा सर्वसाधारणको धनमाल लुटिने र ठगिन सक्ने संभावित जोखिमलाई ध्यान दिदैं प्रहरीले विशेष निगरानी गर्ने डिआईजी खापुङको भनाइ छ ।
प्रदेशको जिल्लाहरूको विभिन्न स्थानहरूमा नियमित चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने व्यवस्था मिलाइएको छ । साथै विभिन्न स्थानहरुमा ट्राफिक सहितको संयुक्त चेकिङ गरिने छ भने सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण गर्नका लागि पनि प्रहरी परिचालन गरिनेछ । बजार क्षेत्र र राजमार्गहरुमा हुने गतिविधिलाई सहज बनाउन पिकेट स्कर्टिङ मोबाइल गस्ती पनि परिचालन गरिने छ ।
आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरूको सुरक्षा व्यवस्थापन गरिएको छ । चाडबाडको समयमा जुवातास, मापसे गरी झंै–झगडा, अपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरु र बैंक तथा वित्तीय संघ–संस्था लगायतका क्षेत्रहरुलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता अपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्नका उक्त, योजना तयार गरिएको डिआइजी खापुङले बताए । प्रदेश प्रहरी कार्यालयले प्रदेश तथा मातहत कार्यालयहरूमा चाडपर्व अवधिभर सादा पोसाक र गस्ती जस्ता कार्यहरु पनि बढाउने उनले बताए ।
यात्रु साहयता कक्ष संचालनमा ल्याइदै
चाडपर्वलाई लक्षित गरी कोशी प्रदेशको १४ जिल्ला जिल्लाहरूमा यात्रु सहायता कक्ष स्थापना गरी संचालनमा आउने भएको छ । यात्रुहरूको यात्रालाई सहज बनाउन १४ जिल्लाहरूमा यात्रु सहायता कक्ष संचालनमा ल्याउन निर्देशन दिइसकेको डिआइजी खापुङले बताए । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिने उनले बताए । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गर्न लागेको उनले बताए । ‘केही दिनभित्र यात्रु साहयता कक्ष स्थापना भएर संचालनमा आउनेछ,’ उनले भने, ‘त्यसको तयारीमा लाग्न मैले मातहतका सुरक्षा नियाका प्रमुखहरुलाई निर्देशन पनि दिइसकेको छु ।’