आफ्नै प्रदेशमा कर्नर पर्‍यो कोइराला समूह

संसदीय समितिमा भाग पाएको ३ सभापति र सरकारमा भर्खरै चार जना मन्त्रीहरु नियुक्त गर्दा डा. शेखर कोइराला समूहलाई कर्नर पारिएको देखिन्छ ।

विराटनगर । कोशी प्रदेशमा आफ्नो पकडलाई बलियो बनाउने तयारीमा लागिरहेको बेला नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहलाई संस्थापन पक्षले यस पटक कर्नरमा पारिदिएको छ । कोइराला समूहमै रहेका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनसनको असफलता, संसदीय समितिका सभापति निर्वाचन या मन्त्रीहरुको चयन प्रक्रियामा पनि कोइराला समूहको उपस्थिति शून्य देखिन्छ ।

कांग्रेसको भागमा परेको ४ मन्त्रालयमध्ये २ मन्त्रालय पाउनु पर्ने अडान राखेको कोइराला समूह सरकारमा सहभागी नै नगराई शुक्रबार मन्त्रीमण्डल विस्तार भयो । कोइराला समूहकै लागि स्वास्थ्य मन्त्रालय खाली राखिएको छ । नियुक्त भएका तीन मन्त्रीहरु भुपेन्द्र राई, सदानन्द मण्डल र खगेनसिंह हाङ्गाम तथा राज्यमन्त्री भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् । मन्त्रीमा नियुक्त राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिएका हुन् ।

यस्तै ७ वटा संसदीय समितिमध्ये ३ वटाको सभापति लिएको कांग्रेसले संस्थापक समूहबाट गयानन्द मण्डल सामाजिक विकास समितिको सभापति बन्दा नेता कृष्ण सिटौला समूहबाट खगेश्वरी पौडेल सुशासन तथा योजना समिति र महामन्त्री विश्वप्रकाश शर्मा समूहबाट विनोद राई अर्थ समितिको सभापति बने । संसदीय समितिको सभापतिमा पनि कोइराला समूह शून्य देखिन्छ ।

कोइराला समूहमा केदार कार्की, इन्दिरा थापा, गोविन्द गिरी, मानबहादुर लिम्बू, रामकुमार खत्री, शम्शेर राई, सुनिता कुमारी गुरुङ र लिला कुमारी राई रहेका छन् । केदार कार्की मुख्यमन्त्री बनेको बेला विद्रोह गर्दै समर्थन गर्नेहरु पनि उनीहरु नै थिए ।

आमरण अनशनको असफलता

केदार कार्कीले आफू मुख्यमन्त्री हुँदा सुरु गरेका विभिन्न ९ वटा माग राख्दै गत २५ गते आमरण अनशन सुरु गरे । निषेधित ठाउँमा आमरण अनसन बसेका उनलाई प्रहरीले धरपकड ग¥यो । कार्यकर्तालाई लाठीचार्ज पनि ग¥यो । तर, पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने अडान राख्दै कार्कीले २६ गते पनि अनशनलाई निरन्तरता दिए । उनले राखेका मागको विषय सम्बोधन हुनुपर्ने भन्दै कोइराला पक्षका कार्यकर्ताहरुको भीड अनशनस्थलमा जम्मा भयो ।

तर, कांग्रेस दलका नेता उद्धव थापा र प्रमुख सचेतक गोपाल तामाङकै पहलमा उधारो सहमतिमा उनको अनसन तोडियो । त्यसबेला धेरैले आँकलन गरेका थिए, ‘केदार कार्कीको आमरण अनसनले कोइराला पक्षले २ वटा मन्त्री पाउने सुनिश्चित भयो ।’

तर, संस्थापन समूहले न संसदीय समितिको सभापतिमा भाग दियो, न मन्त्रीमण्डलमा उक्त समूहलाई सहभागी नै गरायो । बरु मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग मिलेर संस्थापन समूहले पेल्दै लगेको देखिन्छ । कोइराला समूहका सांसद रामकुमार खत्री भने दुई वटा फूल मन्त्री नदिएसम्म सरकारमा नजाने बताउँछन् ।

‘डाक्टर शेखरको गृह प्रदेश हो । यहाँ दुईवटा फूल मन्त्री नदिएसम्म हाम्रो समूह सरकारमा सहभागी हुँदैन,’ उनले भने । उता, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने कांग्रेसका मन्त्रीहरुलाई शपथग्रहण गराएको दिन नै गत शुक्रबार संचारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए, ‘आउनु भयो भने आउनुहुन्छ । नआए यस्तै चल्छ ।’ मुख्यमन्त्री कार्कीको अभिव्यक्ति र कांग्रेस संसदीय दलमा संस्थापन समूहले देखाइरहेको व्यवहारले कोइराला समूह नतमस्तक हुन बाहेक अरु गर्न नसकेको देखिन्छ ।

मङ्गलबार, ०१ असोज, २०८१, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर